२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवनमा निजी स्कुल बसमा आगो लगाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ

१४ जेठ, चितवन । चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु महेश हुन् ।

गत वैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसलाई भरतपुर–२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेर आगजनी गरेको प्रहरीको दाबी छ । ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्णरुपमा जलेको थियो ।

पक्राउ परेका थारु भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको थियो । विद्यालय हाताभित्रबाट व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको भन्दै विद्यालयले विज्ञप्ति नै निकालेर विरोध गरेको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए ।

पक्राउ परेका महेश थारुकै समूहले २०८० माघ २८ गते भरतपुर–२६ ज्योतिनगरस्थित सूर्योदय वोमी लघुवित्त संस्थाको कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरीको दाबी छ । पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो व्यक्ति अपराधिक क्रियाकलापमा निरन्तर सक्रिय भएको पाइएको प्रहरीले जनाएको छ । थारुले विगतमा माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहमा काम गरेका थिए । उनी त्यहाँबाट पनि विद्रोह गरेर जिल्लामा अलग्गै गतिविधि गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस