२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कैलाश सिरोहिया पक्राउ पर्दा सञ्चारको हक खोसिएको छैन, अनावश्यक हल्ला नगरौँ : केपी ओली

काठमाडौं, जेठ १० गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता कीर्ते प्रकरणमा कैलाश सिरोहिया पक्राउ पर्दा सञ्चारको हक नखोसिएको बताउनुभएको छ । दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे विभिन्न संघ संस्थाहरुले प्रेस स्वतन्त्रता हनन भएको अनर्गत प्रचार गरेको भन्दै ओलीले झापाको एक कार्यक्रममा सो अभिव्यक्ति दिनुभएको हो ।

ओलीले फौजदारी अभियोगमा पत्रकारितासँग जोड्दै नजोडिएको विषयलाई पत्रकारिताको स्वतन्त्रता हनन भएको भन्दै गलत र भ्रामक प्रचार गरेर अनावश्यक हल्ला गर्न आवश्यक नभएको स्पष्ट पार्नुभएको छ । ‘सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने । डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मान्छे गिरफ्तार भए ।’, ओलीले थपे, ‘डेमोक्रेसी नै खतरामा परिहाल्यो त ? के सञ्चारका हकहरू खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो ।’

त्यस्तै उनले सिरोहियाको पक्राउलाई लिएर गृहमन्त्रीको समाचारसँग जोडिनु गलत भएको बताउनुभयो । ‘पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।’, उहाँले भन्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस