२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमानमाथी अर्को कीर्तिमान

Gorkha's Phunjo Lama sets another record for fastest Everest climb

काठमाडौं । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बुधबार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाउनुभएको हो ।

सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३ः५२ मा आधार शिविरबाट आरोहण सुरू गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उहाँले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको हो ।

यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाउनुभएको थियो । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको रेकर्ड फुञ्जोले नै तोडिदिनुभयो । यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गर्नुभएको छ ।

वि.सं. २०४३ मा गोरखाको छेकाम्बर बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मिनुभएकी फुञ्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गर्नुभएकी फुञ्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसक्नुभएको छ । उहाँले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसक्नुभएको छ । सगरमाथा आरोही संघका महासचिव नेपाल पर्वतारोहण संघका सचिव शिवबहादुर सापकोटाका अनुसार आरोही फुञ्जोले २४ घण्टा २४ मिनेटमा सगरमाथाको आधारशिविरबाट चुचुरोसम्म र सगरमाथाको चुचुरोबाट आधार शिविरसम्म आरोहण सकेर अर्को नयाँ कीर्तिमान बनाउनुभएको छ ।

उहाँले नेपाली चेलीको साहसिक कार्यले संसारभर नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धनमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको बताउनुभयो । फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुण्डिएर उद्धार गर्ने काम गर्दै आउनुभएको छ । उहाँले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आउनुभएको छ । पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुञ्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस