२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रिजल्टमा धाँधली गर्ने पाँच जना पक्राउ

नेपालगन्ज, जेठ १० गते । बाँकेको कोहलपुरमा कक्षा आठको विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा ‘इन्ट्री’ गरेर परीक्षाफलमा गडबडी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा अनियमितता पुष्टि भएको थियो ।

छानबिन समितिको प्रतिवेदन अनुसार नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तर पुस्तिका आफैँ परीक्षण गरेको, विद्यार्थीको प्राप्ताङ्कभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएकोलगायतका अनियमितता फेला परेको थियो ।

प्रतिवेदनका आधारमा दोषी देखिएका १५ जना मध्ये १२ जनाको नाममा २०८१ जेठ १ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा दर्ता भएको थियो ।

सोही अन्तर्गत पक्राउ पर्नेमा आभास विक्रम क्षेत्री, उमेश केसी, कुवेर ढकाल, शिक्षण सहजकर्ता रोमिना खत्री र रमेश कुमार थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । उहाँले सो अनियमिततामा संलग्न अन्य व्यक्तिहरू पनि केही दिनमै पक्राउ पर्ने बताउनुभयो ।

२०८० चैत २ गतेदेखि ९ गतेसम्म कक्षा ८ को परीक्षा सुरु भएको थियो भने चैत २३ गते नतिजा प्रकाशित भएको थियो । कोहलपुर नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८६४ जना विद्यार्थीहरूले फारम भरेकोमा ५३ जना अनुपस्थित भएको र २ हजार ८११ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

सो परीक्षामा संस्थागत तर्फ ६९.८७ प्रतिशत उत्तीर्ण भएका थिए भने सामुदायिक तर्फ १४.८० प्रतिशत उर्तिण भएका थिए । नतिजा धेरै देखाउन नक्कली काम गरेको पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुख रामबहादुर हमाललाई काज फिर्ता गर्ने, शिक्षा शाखा अधिकृत सातौँ रविलाल मिजारलाई निलम्बन गर्ने तथा शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई विभागीय कारबाही गर्ने निर्णय गरिसकेको छ ।

परीक्षाफलमा गडबडी गरिएको आशङ्कापछि कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनेको थियो । जसमा नेपाल शिक्षक महासङ्घका प्रतिनिधि राम प्रसाद चापागाईँ, क्रिसा प्रतिनिधि वि.एल भारती, ज्ञान ज्योति माविका प्रधानाध्यापक सुमित्रा न्यौपाने र कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापा रहनु भएको थियो । सिराज खान

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस