२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इरानका राष्ट्रपति र विदेशमन्त्री चढेको हेलिकोप्टर दुर्घटना

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रहिसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । इरानका गृहमन्त्री अहमद वाहिदीले दुवैजना हेलिकोप्टरमा सवार भएको पुष्टि गरेका छन् । उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमति समेत अन्य व्यक्ति पनि सवार भएको जनाइएको छ ।

इरानको सरकारी मिडियाका अनुसार उडानको समयमा हेलिकोप्टरलले अफ्ठ्यारो अवस्थाको सामना गर्नु परेको थियो । त्यसैले ‘हार्ड ल्यान्डिङ’ गर्नु परेको बताइएको छ । तर कस्तो समस्या हेलिकोप्टरले सामना गर्नुपरेको थियो त्यो भने स्पष्ट पारिएको छैन । उद्धारका लागि एक उद्धार टोली घटनास्थलतर्फ गएको जनाइएको छ । खराब मौसमका कारण उद्धारमा समस्या भएको जनाइएको छ ।

घटनाको एक घण्टापछि पनि उद्धार दल खराब मौसमका कारण घटनास्थलमा पुग्न सकेको थिएन । उक्त क्षेत्रमा ४० जनाको रक्षा दल खटाइएको गृहमन्त्रीले जनाएका छन् । आपतकालीन उद्धारका लागि अपरेसन ड्रोनको पनि प्रयोग गरिएको जनाइएको छ ।

घटनास्थलमा आठवटा एम्बुलेन्स पनि पठाइएको छ । राष्ट्रपति रइसी अजरबैजानमा किज कलासी र खोदाफरिन बाँधको उद्घाटनका लागि त्यसतर्फ गएका थिए । उद्घाटनपछि उनी तबरेज सहरतर्फ जाँदै थिए । उद्धार दलका साथ रहेका फोर्स न्युजका रिपोर्टरका अनुसार भारी कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको छ ।

पहाडी भू–भाग तथा रुखहरू धेरै भएको उक्त क्षेत्रमा भिजिबिलिटी पाँच मिटरसम्म मात्रै रहेको छ । जहाँ हेलिकोप्टरको हार्ड ल्यान्डिङ गरिएको छ । उक्त इलाका तबरेज सहरबाट ५० किमी टाढा वर्जेकान सहरको नजिक रहेको छ । तबरेज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो ।

इरानको सरकारी एजेन्सी आईआरएनएले दुर्घटनाअघिको एक तस्बिर प्रकाशित गरेको छ । उक्त अन्तिम तस्बिरमा इरानका राष्ट्रपति रइसीका साथ अन्य व्यक्ति पनि सामेल थिए ।

धर्म गुरुले के भने ?
इरानका सर्वोच्च धर्मगुरु आयोतल्ला खमेनीले इरानी राष्ट्रपति खमेनीले सर्वसाधारणलाई चिन्ता नगर्न आग्रह गर्दै यस घटनाले सरकारी काम प्रभावित नहुने जनाएका छन् । उनले देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा भनेका छन्, “राष्ट्रपति रइसीको आज हेलिकोप्टर उडानको बारेमा आइरहेको खबरले गहिरो चिन्ता लागेको छ । हामी संकटको यो अवस्थामा इरानीहरुका साथ एकजुट भएर खडा छौं । र, राष्ट्रपति तथा दलको भलाइको कामना गर्दछौं ।”

अमेरिकाले उक्त घटनाका बारेमा आएका रिपोर्टमा ध्यान दिइरहेको जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारहरूसँग उक्त कुरा बताएका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले उक्त घटना सुनेर आफू चिन्तित भएको बताउँदै सबै ठीक रहेको भन्ने खुसीको खबर पर्खिरहेको जनाएका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले उक्त घटनाबाट चिन्तित भएको जनाएका छन् । इरानका राष्ट्रपतिले उडान भर्नुअघि अजरबैजानका राष्ट्रपतिसँग दुवै देशको सीमामा बाँधको उद्घाटन गरेका थिए । बीबीसी

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस