काठमाडौं । एक दशकको अवधिमा धेरै कुरा परिवर्तन भए। यसबीचमा विश्वकप छनोट खेल्नुपूर्व ग्लोबल क्वालिफायरमा भिड्नुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सीधै विश्वकप छनोट खेल्ने हैसियत बनाइसकेको छ। सोह्र राष्ट्रबीच हुने गरेको विश्वकपका प्रतिस्पर्धीको सङ्ख्या बढेर २० पुगेको छ अनि प्रतियोगिताको ढाँचा पनि परिवर्तन गरिसकिएको छ।
त्यसै पनि छिटोछिटो स्वरूप परिवर्तन गर्न रुचाउने स्वभावको जस्तो देखिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपमा नेपालले पाइला चालेको एक दशकको अवधिमा २० ओभरको विश्वकपमा थुप्रै परिवर्तन गरिसकेको देखिन्छ। उत्तर अमेरिकामा यो पहिलो विश्वकप हुँदै छ भने आयोजकको हैसियतले अमेरिकाले पनि सीधै विश्वकप खेल्ने मौका पाएको छ।
एक मात्र सोमपाल
नेपालले दश वर्षपछि टी२० विश्वकपमा स्थान बनाएको छ। त्यसबेला पारस खड्काको कप्तानीमा खेलेको नेपाली राष्ट्रिय टोलीको जिम्मा अहिले रोहित पौडेलको काँधमा छ। दश वर्ष अगाडिको उक्त टोलीमा खेलेका खेलाडीमा अहिले राष्ट्रिय टोलीमा एक मात्र सोमपाल कामी बाँकी छन्।
विनोद भण्डारी विश्वकप छनोटको अन्तिम छनोटको रूपमा रहेको वेस्ट इन्डिज ‘ए’ सँगको प्रतिस्पर्धासम्ममा आफूलाई उभ्याएका थिए। तर उनी अन्तिम सूचीमा अटाउन सकेनन्। सोमपालले अहिले पनि टोलीको तीव्र गतिको बलिङको जिम्मेवारी उठाउनेछन्। अट्ठाइस वर्षीय सोमपालसँग अहिले पनि त्यो ल्याकत छ, बरु थप अनुभवका साथमा।
फरक नेपाली टोली
नेपाली क्रिकेट समर्थकले अनुभव गर्दै आएको कुरा के हो भने पहिले नेपाली टोलीको मुख्य अस्त्र बलिङ र फिल्डिङ हुने गर्थ्यो। ब्याटिङमा विश्वास गर्न गाह्रो हुने गर्थ्यो।
अहिले नेपाली ब्याटिङमा निकै सुधार भइसकेको देखिन्छ। अविस्मरणीय ब्याटिङ कला देखाउँदै नेपाली खेलाडीहरूले ठूल्ठूलो स्कोर बनाएका छन्, स्कोर पछ्याएका छन्। त्यति बेला क्रिकेट विज्ञहरूले भन्थेः ‘ब्याटिङमा वयस्क’ नभएसम्म नेपाली टोली परिपक्व भएको मानिँदैन।
पूर्वखेलाडी धीरेन्द्र साउद भन्छन्, “खासमा पहिले नेपाली ब्याटिङ सुदृढ नभएकोले बलिङ पक्ष सुदृढ देखिएको थियो। अहिले ब्याटिङको स्तर बढेको हो। त्यसको अर्थ बलिङ कमजोर भएको भने होइन।”
थपिए चार राष्ट्र
बाङ्ग्लादेशमा सम्पन्न सन् २०१४ को विश्वकपमा १६ राष्ट्रको सहभागिता थियो। अहिले टोलीको सङ्ख्या २० पुर्याइएको छ। सन् २०२१ को जून महिनामा बसेको आईसीसीको बैठकले सन् २०२४, २०२६, २०२८ र २०३० को विश्वकपमा २० राष्ट्र सहभागी गराउने निर्णय गरेको हो।
सन् २००७ मा पहिलो टी-२० विश्वकप हुँदा १२ टोलीको मात्र सहभागिता थियो। सन् २०१४ को बाङ्ग्लादेश संस्करणमा टोलीको सङ्ख्या १६ पुर्याइएको थियो। क्रिकेट खेल्ने राष्ट्रहरूको सङ्ख्या बढ्दै जानु तर आईसीसी भने टेस्ट राष्ट्रमा मात्र रमाउन थालेको भन्दै आलोचना बढ्न थालेपछि आईसीसीले २० ओभरको विश्वकपमा सहभागी राष्ट्रको सङ्ख्या २० पुर्याएको हो।
नेपाललाई फाइदा
सहभागी सङ्ख्या थपिएपछि एशिया, इस्ट एशिया प्यासिफिक, अफ्रिका, युरोप र अमेरिकाको कोटा थपियो। एशियाबाट दुई असोसियट राष्ट्रलाई कोटा दिइएको थियो। त्यसको प्रत्यक्ष फाइदा नेपाल जस्तो असोसियट राष्ट्रमा उच्च प्रदर्शन गरिरहेको राष्ट्रलाई भयो।
यसअघि ‘ग्लोबल क्वालिफायर’मा प्रतिस्पर्धा गर्दै आएको नेपालले एशिया क्षेत्र छनोटबाटै सीधै विश्वकपको यात्रा तय गर्ने अवसर पायो। अझ आयोजनाको अवसर पनि प्राप्त गरेपछि नेपाल मूलपानीको मैदानमा यूएईलाई पराजित गर्दै विश्वकपमा छनोट हुन सफल भयो।
फरक ढाँचा
विश्वकपको ढाँचा पनि सन् २०१४ को भन्दा फरक छ। सन् २०१४ को विश्वकपमा पूर्ण सदस्यता पाएका आठ टेस्ट राष्ट्र र बाँकी आठ असोसिएट राष्ट्रबीच विभाजन गरिएको थियो। शीर्ष वरीयताका आठ राष्ट्र सीधै दोस्रो राउन्डमा खेलेका थिए।
पहिलो राउन्डमा भने उत्कृष्ट वरीयताभित्र नपरेका दुई टेस्ट टोली र बाँकी असोसियट राष्ट्र थिए अर्थात् यी टोलीले ठूला टोलीसँग भेट्न पहिलो राउन्ड पार गर्ने पर्थ्यो। पहिलो चरणबाट शीर्ष दुई टोली छानिएपछि दोस्रो चरणको सुपर १० बीच प्रतिस्पर्धा गराइएको थियो।
पहिलो चरणबाट बाङ्ग्लादेश र नेदरल्यान्ड्स छानिएर सुपर १० मा पुगेका थिए। अहिलेको ढाँचा भने फरक छ। सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ। एउटा समूहमा पाँच टोली छन्।
यसो हुँदा टेस्ट बाहेकका राष्ट्रहरूले पनि ठूला टीमसँग पहिलो चरणमै भिड्न पाएका छन्। नेपालले टेस्ट टोली बाङ्ग्लादेश, श्रीलङ्का र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै छ। प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। छानिएका आठ टोलीलाई दुई समूहमा बाँडेर खेलाइनेछ। त्यसका शीर्ष दुई टोलीबिच सेमिफाइनल हुनेछ र विजेता टोलीले उपाधिका लागि खेल्नेछन्।
कसरी छानियो २० टोली
सन् २०२२ को विश्वकपमा शीर्ष आठ वरीयताभित्र परेका टोली सीधै विश्वकपमा छानियो। आयोजकले छनोट खेल्नु नपर्ने प्रावधान अनुरूप दुई राष्ट्र अमेरिका र वेस्ट इन्डिज पनि सीधै विश्वकपमा प्रवेश गरे।
सन् २०२२ नोभेम्बर १४ भित्र आईसीसीको वरीयतामा शीर्ष आठपछिका माथिल्लो श्रेणीमा रहेका थप दुई टोली पनि सीधै विश्वकपमा पुगे। यसरी शीर्ष १२ टोली सिधै विश्वकपमा पुगेको हो। बाँकी आठ टोलीले भने विश्वकप पुग्न क्षेत्रीय छनोट चरणमा प्रतिस्पर्धा गर्नुपर्यो।
बाँकी आठ कोटा
आईसीसीले एशिया, अफ्रिका, र युरोप क्षेत्रलाई दुई/दुई कोटा तथा इस्ट एशिया प्रशान्त र उत्तर अमेरिकालाई १/१ कोटा दिएको थियो। जस अनुरूप एशियाबाट नेपाल र ओमान, अफ्रिकाबाट नामिबिया र युगान्डा, युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड, उत्तर अमेरिकाबाट क्यानडा र ईस्ट एशिया प्रशान्तबाट पपुवा न्यूगिनीले छनोट चरण पार गरेर विश्वकप पुगेको हो।
अन्तिम २० टोली
आयोजक : अमेरिका, वेस्ट इन्डिज,
शीर्ष आठ टेस्ट टोली: अस्ट्रेलिया, इङ्गल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्यूजील्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का
माथिल्लो श्रेणीका दुई टोली: अफगानिस्तान, बाङ्ग्लादेश
छनोट चरण पार गरेका राष्ट्र: नेपाल, ओमान, नामिविया, युगान्डा, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्यूगिनी, क्यानडा। निरञ्जन राजवंशी/ बीबीसी न्यूज नेपाली