२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आईपीएलमा आज : लखनउसँग बदला लिने रणनीतिमा मुम्बई

काठमाडौं, जेठ ४ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७ औँ संस्करणमा शुक्रबार उपाधि होडबाट बाहिरिइसकेका दुई टोलीबिच भिडन्त हुँदैछ । वानखेड स्टेडियममा राति ७ः ४५ बजे सुरु हुने उक्त खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ ।

मुम्बई इन्डियन्स यसअघि नै प्रतियोगिताको लिग चरणबाटै घर फर्किने पक्का भइसकेको छ । लखनउको पनि अगाडि बढ्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी छ । यी दुबै टोलीले आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् ।

मुम्बई इन्डियन्सले यसअघि खेलिएको १३ मध्ये केवल चार खेलमा जित र नौ खेलमा हारको नतिजा निकालेको छ । मुम्बई आठ अंकसहित तालिकाको अन्तिम अर्थात, १० औँ स्थानमा छ । लखनउले भने यसअघि खेलिएको १३ मध्ये ६ खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । लखनउ १२ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

पञ्जाब किङ्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स पनि लिग चरणबाटै बाहिरिने पक्का भइसकेको छ । कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेका छन् ।

अब प्ले–अफ चरणमा पुग्ने एउटा टोलीको मात्र टुंगो लाग्न बाँकी छ । त्यो एक स्थानका लागि चेन्नई सुपर किङ्स र रोलय च्यालेन्जर्स बैंगलुरु दौडमा छन् । यी दुई टोलीमध्ये चेन्नईको प्ले–अफ चरणमा पुग्ने सम्भावना बढी देखिन्छ ।

हालसम्म १३ खेल खेलेको चेन्नई १४ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । अब चेन्नईले एक खेलमात्र खेल्न बाँकी छ । समान खेल खेलेको बैंगलुरु भने १२ अंकसहित तालिकाको छैटौँ स्थानमा आसिन छ । बैंगलुरुले पनि अब एक खेलमात्र खेल्न बाँकी छ ।

शुक्रबारको खेलमा मुम्बई इन्डियन्सलाई हराएमा लखनउ सुपर जाइन्ट्सको अंक १४ पुग्नेछ । तर, लखनउको नेट रन रेट निकै कमजोर छ । लखनउको हालको नेट रन रेट –०.७८७ रहेको छ । यसको विपरित शुक्रबारको खेलमा लखनउलाई हराएमा मुम्बईको अंक १० मात्र पुग्नेछ । यसले अंक तालिकामा खासै तात्विक अन्तर पार्ने छैन ।

जारी सिजनको आईपीएलमा मुम्बई र लखनउ आपसमा भिड्न लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको खेलमा लखनउले आफ्नो घरेलु मैदानमा मुम्बईलाई चार विकेटले हराएको थियो । आजको खेलमा मुम्बई घरेलु मैदानमा लखनउलाई हराउँदै त्यसको बदला लिने धुनमा हुनेछ । लखनउ भने यो सिजन लगातार दोस्रो पटक मुम्बईलाई हराउने योजनामा देखिन्छ ।

हेड टु हेडमा लखनउ अगाडि

इन्डियन प्रिमियर लिगमा लखनउ र मुम्बईबिच हालसम्म कुल पाँच खेल खेलिएको छ । त्यसमा मुम्बईभन्दा लखनउ बलियो देखिन्छ । हालसम्म चार खेलमा लखनउले मुम्बईलाई हराएको छ । एक खेलमा भने मुम्बई विजयी भएको छ । यसअघि वानखेड स्टेडियममा यी दुई टोलीबिच एकपटक भिडन्त भएको छ । त्यो खेलमा लखनउ ३६ रनले विजयी भएको थियो ।

मुम्बईको सर्वाधिक रन तिलक वर्माको नाममा

इन्डियन प्रिमियर लिगको जारी सिजनमा मुम्बई इन्डियन्सको प्रदर्शन निकै निराशाजनक देखिएको छ । मुम्बईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान तिलक वर्मा हुन् । उनले टोलीका लागि १३ खेलमा कुल चार सय १६ रन बनाएका छन् ।

टोलीका लागि सर्वाधिक विकेट लिने बलर भने जसप्रित बुमराह हुन् । उनले १३ खेलमा २० विकेट लिइसकेका छन् । उनी जारी सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि दोस्रो स्थानमा छन् । यो सूचिमा पहिलो स्थानमा रहेका पञ्जाब किङ्सका हर्षल पटेलले २२ विकेट लिएका छन् ।

लखनउको सर्वाधिक रन केएल राहुलको नाममा

जारी सिजनको इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जाइन्ट्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान केएल राहुल हुन् । उनले टोलीका लागि हालसम्म कुल चार सय ६५ रन बनाइसकेका छन् । यसैगरी लखनउ सुपर जाइन्ट्सका लागि सर्वाधिक विकेट लिने बलर नविन उल हक हुन् । उनले टोलीका लागि हालसम्म १२ विकेट लिएका छन् ।

मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्सबिच शुक्रबारको खेल हुने वानखेड स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई सहयोग पुर्याउने प्रकृतिको छ । यो पिचमा तिब्रगतिका बलरलाई पनि केही सहयोग पुग्न सक्छ ।

यो स्टेडियममा हालसम्म आईपीएलको कुल एक सय १५ खेल खेलिएको छ । त्यसमध्ये ५३ खेलमा पहिलो ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ६२ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले जित हासिल गरेका छन् ।

छैन वर्षाको सम्भावना

मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्सबिच खेल हुने दिन शुक्रबार मुम्बईको मौसम सफा रहने बताइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, मुम्बईमा शुक्रबार वर्षाको सम्भावना छैन । मुम्बईको तापक्रम २९ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने छ ।

सम्भावित टोली

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), ईशान किशन (विकेटकिपर), सूर्यकुमार यादब, तिलक वर्मा, नेहल वाधेरा, टिम डेभिड, नमन धीर, जेराल्ड कुट्जी, पियुष चावला, नुवान थुषरा र जसप्रित बुमराह । इम्प्याक्ट प्लेयर : रोहित शर्मा ।

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, मार्कुस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पुरन, दीपक हुड्डा, युद्धवीर सिंह, अरशद खान, रवि बिस्नोई, नविन उल–हक र मोहसिन खान । इम्प्याक्ट प्लेयर : आयुष बडोनी ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस