२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालक आर्यन विश्वकर्माको प्रतिभा: हवाईजहाज नदेखी आफै बनाएर उडाए नमुना जहाज

घोडाघोडी (कैलाली), जेठ १ गते । इन्टरनेट र मोबाइलको प्रयोगले बालबालिकालाई नराम्रो लत मात्र लगाएको छैन, ती स्रोतसाधनलाई सही उपयोग गर्ने हो भने सानै उमेरमा धेरै कुरा सिक्ने र गर्ने माध्यम पनि बनेको छ । यस्तै उदाहरण हुन् कैलालीका आर्यन विश्वकर्मा ।

आर्यनले हालसम्म वास्तविक हवाईजहाज नजिकबाट देखेका छैनन् तर उनले इन्टरनेटको खोजीबाटै बनाएको जहाजले आकाशमा कावा खाएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुरका आर्यनले १४ वर्षकै उमेरमा हवाईजहाज बनाई आकाशमा उडाएर सबैलार्ई दङ्ग बनाएका मात्र छैन प्रशंसाको पात्रसमेत बनिरहेका छन् ।

प्रतापपुरकै सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत आर्यन अभाव र दुःखमा हुर्कंदै गरेका बालक हुन् । उनी चार वर्षको हुँदा बुवा भरत विश्वकर्माको करेन्ट लागेर निधन भएपछि उनका दुःखका दिन अरू थपिए । पतिको निधनपछि आर्यन र दुई छोरीको लालनपालनदेखि सबै जिम्मेवारी आमा राजेश्वरी विश्वकर्माको काँधमा आयो ।

आर्यन भन्छन्, “हामीलाई पढाउने र अन्य खर्च जुटाउन आमा भारतको पुनामा भाँडा माझ्ने काम गर्नुहुन्छ । हवाईजहाज बनाउन चाहिने सामान पनि आमाले इन्डियाबाट पठाइदिनुभयो । घरमा काकाले पनि सहयोग गर्नुभयो ।” आर्यनले विद्यालयबाहेकको समयमा घरमै काकाको मोबाइलबाट गुगलमा खोजेर रिमोट कन्ट्रोलयुक्त हवाईजहाज बनाएको बताए ।

आर्यनले जान्ने बुझ्ने भएदेखि यस्तै नयाँ नयाँ सामान बनाउन समय खर्चिने गरेको आर्यनका काका निर्प विश्वकर्माको भनाइ छ । आर्यनले यसअघि सेन्सर घण्टी र रिमोट कन्ट्रोल नमुना कार बनाएको उनले बताए ।

महावीर पुनबाट प्रभावित आर्यनले भविष्यमा वैज्ञानिक बन्ने लक्ष्य रहेको सुनाए । उनले भने, “साँच्चिकै हवाईजहाज बनाएर आमा, काका, दिदीहरूलाई त्यसैमा बसाएर उडाउने सपना छ ।”

आर्यनले २० हजार खर्चमा दुई महिना लगाएर रिमोट कन्ट्रोलबाट चल्ने जहाज बनाएका हुन् । उनले आफूले बनाएको जहाजको नाम यती एरलाइन्स भएको बताए । अहिलेसम्म आफूले नजिकबाट जहाज नदेखेको बताउने आर्यनले भने, “गुगलमा खोज्दै गएँ, हवाईजहाजका विभिन्न भागको जानकारी, आकार सबै थाहा भयो । चाहिने सामान जति आमासँग इन्डियाबाट मगाएँ ।” आर्यनले आफूले बनाएको रिमोटकन्ट्रोल जहाज घरनजिकैको खेतबाट खुला आकाशमा माथि माथिसम्म उडाएर देखाए । सानै उमेरमा उनको उदाहरणीय कार्यले चर्चा पाउँदै गएको छ । तस्विर : गोरखापत्र अनलाइन / चाँदनी आचार्य

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस