२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१६ वर्षअघिको बहुविवाह, १४ वर्षकी छोरी र ११ वर्षका छोरा भइसकेकी कान्छी पत्नी पक्राउ

बागलुङ । दोस्रो विवाह गरेको १६ वर्ष भयो । १४ वर्षकी छोरी र ११ वर्षका छोरासमेत छन् । पति कोपिलामणि एक महिनाअघि वैदेशिक रोजगारीका लागि विदेश उडे । घरव्यवहार चलाइरहेकी ४० वर्षीया सदीक्षा पौडेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काम छ भनेर बोलाउँदै ल्याएर हिरासतमा राखेको हो ।

मंगलबार जिल्ला अदालतमा पेस भएपछि अनुसन्धानका लागि भन्दै उनलाई ५ दिन थुनामा पठाइएको छ । बहुविवाह गरेका कोपिलामणिलाई विदेश उड्न समेत कुनै रोकटोक नगरेको प्रहरीले कान्छी पत्नी सदीक्षालाई मात्रै बहुविवाहको आरोपमा थुनेको हो । उनीहरूको विवाह भएको पहिले नै थाहा थियो । प्रहरी हवल्दारबाट निवृत्त भएका कोपिलामणिको पेन्सनपट्टाबाट दुवै पत्नीलाई आधा–आधा पेन्सन दिने गरी १२ वर्षअघि २०६९ मा प्रहरी चौकीमै बसेर कागजात बनाइएको छ ।

अंश भने घरव्यवहारको रुपमा उनीहरूले भोगचलन गरिरहेका छन् । प्रहरी कार्यालयमै गरेको सहमति अनुसार जेठी पार्वती र कान्छी सदीक्षाले पेन्सन बुझ्दै आएको कागजात देखिन्छ । सहमतिपत्रमा दुवै पत्नीका बाबुले पनि हस्ताक्षर गरेका छन् । औषधिउपचार बापत पाएको रकमसमेत दुवैले बाँडेको देखिन्छ । तर, पार्वतीले जाहेरीमा आफूलाई दोस्रो बिहे गरेर खानलाउन नदिएको उल्लेख गरेकी छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित घरमा दुई भान्छा बनाएर बस्न थालेको पनि १५ वर्ष कटिसक्यो । तर अचानक उनी पक्राउ परेकामा छिमेकी समेत आश्चर्यमा परेका छन् । बाबु यमलाल शर्मा कोपिलामणि र कान्छी बुहारीसँग बस्थे । जेठी पार्वतीका छोरा पनि सगोलमै हुर्केबढेर अहिले अमेरिका गएका छन् ।

पेन्सनपट्टामा समेत नाम छुट्याएको वर्षौपछि गत माघ १७ गते पार्वतीले कोपिलामणि र सदीक्षाविरुद्ध बहुविवाहको जाहेरी दिइन् । सरकारी वकिलको कार्यालयले दाबी नपुगेको भन्दै जाहेरी फिर्ता गरायो । पार्वतीले पुनः हुलाकबाट पठाएको सोही जाहेरीका आधारमा प्रहरीले सदीक्षालाई पक्राउ गरेको हो । हुलाकबाट पठाएको जाहेरी दर्ता भएको थाहा पाएपछि सदीक्षाले आफू पक्राउ पर्ने आशंकाले निषेधाज्ञा माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । उच्च अदालतले वैशाख २२ मा निषेधाज्ञाविरुद्धको रिट खारेज गरेपछि प्रहरीले सदीक्षालाई पक्राउ गरेको हो । हुलाकमार्फत मुद्दा आइसकेपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले बताए । पक्राउ परेकी सदीक्षाको पछि लागेर ११ वर्षको छोरा पनि बागलुङ आइपुगेका थिए । छोरालाई अहिले छिमेकीले लगेर राखेका छन् । उनी मंगलबार पनि विद्यालय नगइ अदालतमा आमा खोज्दै पुगेका थिए । मंगलबार जिल्ला अदालत परिसरमा नाति कुशलसँगै भेटिएका यमलालले बुहारी किन पक्राउ परिन् भन्ने अलमलमा परेको बताए । ‘कि विवाह गर्ने बित्तिकै पक्राउ पर्नुपर्थ्यो, अहिले के भयो ?’ उनले भने, ‘माघमा दाबी पुगेन भनेको जाहेरीले तीन महिना काटेपछि फेरि पक्राउ गर्ने आदेश कसरी आयो ?’

मुद्दा परेपछि अनुसन्धान गर्नुपर्ने भए पनि थुनामा राख्नैपर्ने नभएको वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले बताए । ‘फैसला कार्यान्वयनमा बाधा पर्दैन भन्ने भयो भने मात्रै थुनामा राख्ने हो, तर उनीहरू घरमै कामकाज गरेर बसिरहेका छन्,’ श्रेष्ठले भने, ‘प्रमाणदेखि प्रहरी पनि माथि हुँदैन भन्ने बुझ्नुपर्ने हो ।’ प्रहरीकै रोहबरमा पेन्सनपट्टा मिलाइएको हो भने यतिसम्म आउनै नहुने उनले बताए । सरकारी वकिलको कार्यालयले पहिलो पटक फिर्ता गरेको जाहेरी दोहोरिएर आएपछि अदालतमा पेस भएको हो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस