२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीपको मुद्दा फैसला नजिक, वकिलका यी तथ्य र तर्कमा न्यायाधीशद्वय मौन

काठमाडौं । उच्च अदालत पाटनमा जारी क्रिकेटर सन्दीप लामिछानेको मुद्दा फैसला नजिक पुगेको छ । दुवै तर्फका वकिलहरूले आ–आफ्नो जिरह प्रस्तुत गरिरहेका छन् । वकिलहरुका तथ्य र तर्कमा न्यायाधीशद्वय मौन छन् । कुनै प्रतिप्रश्न गरेका छैनन् ।

सुरूमा गौशाला २६ को तर्फबाट दुई सरकारी वकिलले बहस गरेका थिए । उनीहरूले सन्दीपलाई दिइएको ८ वर्षको जेल सजाय कम भएको भन्दै बढाउनुपर्ने माग गरे । गौशाला २६ लाई अदालतले नाबालिग नै ठहर गर्नुपर्ने उनीहरूको तर्क थियो ।

सरकारी वकिलले बोलेपछि सन्दीपका वकिलहरूले बहस सुरू गरेका छन् । उनीहरूले सन्दीप निर्दोष रहेको भन्दै सफाइ दिनुपर्ने माग गरे । जिल्ला अदालतले कुनै पनि प्रमाण बेगर बलात्कार ठहर गरेको भन्दै त्यसलाई सच्याउनुपर्ने उनीहरूको जोड छ ।

अहिलेसम्मको बहसमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकाल मौन बसिरहेका छन् । ‘उहाँहरूले कुनै पनि वकिलको बहसमा हस्तक्षेप गर्नुभएको छैन । न कुनै प्रश्न सोध्नुभएको छ, न केही टिप्पणी गर्नुभएको छ,’ स्रोतले भन्यो ।

सन्दीपको तर्फबाट मुरारी सापकोटा, कृष्ण सापकोटा, शम्भु थापाले बहस सिध्याएका छन् । अहिले अहिले वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र सविता भण्डारीको बहस सकिन लागेको छ । सन्दीपका वकिलहरूको बहस सकिएपश्चात सरकारी वकिलले छोटो जवाफी बहस गर्ने छन् । त्यसपछि न्यायाधीशले फैसला सुनाउने बताइएको छ । बहस अनपेक्षित नलम्बिए आजै फैसला हुन सक्ने अदालत स्रोतले बतायो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस