२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेससँग प्रधानमन्त्रीको हारगुहार : सहकारीका समस्या समाधान गर्छु, संसद् अवरोध नगर्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठक बसेर मात्रै निर्णयमा पुग्ने बताए ।

कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अवरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रूपमा आफू लागिपरेको बताएको प्रमुख सचेतक लेखकले जानकारी दिए । उनले प्रधानमन्त्रीको आग्रहबारे संसदीय दलको बैठकले निर्णय लिने बताए । छलफलका लागि प्रधानमन्त्री दाहालले बोलाएपछि कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक लेखक बालुवाटार पुगेका थिए । छलफलमा प्रधानमन्त्री दाहालले सहकारीका समस्या समाधानका लागि सबैसँग छलफल गरेर अघि बढिरहेको प्रधानमन्त्रीको भनाइ रहेको प्रमुख सचेतक लेखकले बताए ।

‘प्रधानमन्त्रीज्युले बोलाएपछि मान्य गगन थापाजी र म प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका छौँ । मूलतः प्रधानमन्त्रीज्युले दुई वटा कुरा भन्नुभएको छ । समस्या जुन छ, सहकारी ठगी प्रकरणमा भएको समस्या समाधान गर्न मैले पूरै कोसिस र काम गरिरहेको छु र समस्या समाधान गर्न प्रयासरत छु भन्नुभयो । राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरिदिनुस्, सहयोग गरिदिनुपर्यो भन्नुभएको छ,’ लेखकले पत्रकारहरूसँगको कुराकानीमा भने । सहकारी समस्या समाधानको विषयमा प्रधानमन्त्री दाहालले जनाएको प्रतिबद्धता कांग्रेसले व्यवहारमा देख्न चाहेको लेखकको भनाइ छ । आजबाट कांग्रेस केही लचिलो भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस