१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै अब नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगपनि किचलो गर्ने भएको छ । गिरी बन्धु टी स्टेट प्रकरणलाई लिएर अब ओलीलाई कारबाहीको माग राख्ने रणनीतिमा कांग्रेस अघि बढेको हो । सर्वोच्च अदालतको फैसलालाई संसदमा उठाउने आजको संसदीय दलको बैठकमा सहमति भएको हो ।
कांग्रेस महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे संसदमा सशक्तरुपमा प्रस्तुत हुने बताए । आज बसेको कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री थापाले गिरी बन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए । उनले सांसदहरूलाई संसदका साथै सडकमा पनि सशक्तरुपमा उठाउन निर्देशन समेत दिएका छन् ।
गिरीबन्धुको फैसलाबारे राजनीतिक नेतृत्व मौन रहेको भन्दै आलोचना भइरहेको छ । सर्वोच्चको फैसलामा चिया उत्पादनमा नभएको जग्गा सरकारीकरण गर्न भनिएको छ । कांग्रेसले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई जोड्दै आएको छ । यद्यपी ओली सरकारको निर्णयकै उपज आज सरकारी जमिन रक्षा भएको एमाले वृत्तको दाबी छ ।