२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीसँग कांग्रेसको तारन्तार छलफल, अर्कै खीर त पाक्दै छैन ?

१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेताहरुले तारन्तार छलफल गरिरहेका छन् । संसदको गतिरोध अन्त्यको नाममा अर्कै खीर पाकिरहेको हो की भन्ने त्रासपनि राजनीति वृत्तमा बढाएको छ । यद्यपी प्रधानमन्त्रीको सचिवालयले संसदको गतिरोध अन्त्यको प्रयासमा नेपाली कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेको बतायो ।

आज बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा पुगेका छन् । उनीहरुको प्रधानमन्त्रीसँग छलफल चलिरहेको छ । आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन् ।

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । आफ्ना माग सम्बोधन नभए राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अवरोध हुनसक्ने चेतावनी कांग्रेसले दिएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त आज दिउँसो ३ बजे बस्दैछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

त्यो बैठकमा कसरी प्रस्तुत हुने भनेर तय गर्न कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ९ बजे बस्दैछ । त्यसअघि कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्डसँग छलफलमा बसेका हुन् । सोमबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेसँग पनि छलफल गरेका थिए ।

छलफलमा लामिछानेले आफूमाथि लागेको आरोपबारे एक पटक संसदमा जवाफ दिन पाउनुपर्ने बताएका थिए । एमाले अध्यक्ष ओलीले भने कांग्रेसको माग अनुसार व्यक्ति केन्द्रित छानबिन समिति बनाउन नसकिने बताएका थिए । ओलीको अडान सुनेपछि कांग्रेस संसदीय दलको बैठकपछि फेरि छलफल गर्ने गरी नेताहरु उठेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस