२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेलम्चीबाट बाह्रै महिना पानी ल्याउन नयाँ हेडवर्क्सका लागि एडीबीको २ अर्ब

काठमाडौं । सरकारको अनुरोधमा मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) स्थानान्तरण गर्न एसियाली विकास बैंक (एडीबी) ले दुई अर्बभन्दा बढी अनुदान दिने भएको छ । हालको हेडवर्क्सबाट करिब एक किमिमाथि सिन्धुपाल्चोकको हेलम्बुस्थित सर्कथलीमा नयाँ संरचना बनाउन चार अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ । उक्त लागतको करिब ५० प्रतिशत अर्थात् बाँकी रकम भने एडीबीले ऋण उपलब्ध गराउने सहमति भएको हो । नयाँ हेडवर्क्स त्यहाँ बनाएपछि मेलम्चीबाट बाह्रै महिना पानी आउनेछ ।

सरकारले नयाँ हेडवर्क्सको सबै लागत अनुदानका रूपमा उपलब्ध गराउन एडीबीलाई अनुरोध गरेको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जनाए । तर एडीबीले दुई अर्ब मात्र अनुदान दिने भएको हो । एडीबी मेलम्चीको मुख्य ऋणदाता हो । उक्त आयोजनाका लागि मेलम्चीको सुरुङ, हेडवर्क्स, प्रवेशमार्ग, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, उपत्यकाको पाइपलाइनसहितको संरचना निर्माणमा ६० अर्बभन्दा बढी खर्च भइसकेको छ ।

आयोजनाका सबैजसो संरचना एडीबीको अनुदान तथा ऋणमा बनेको सचिव आचार्यले जनाए । ‘अहिलेको स्थान अम्बाथानको पहिरोले बर्सेनि पुर्ने खतरा भएपछि नयाँ स्थानमा हेडवर्क्स सार्न लागिएको हो,’ उनले भने, ‘हेडवर्क्स सार्ने प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालय पठाएका छौं ।’

हेडवर्क्स सार्ने प्रस्तावलाई गत चैतमा खानेपानी मन्त्रालयको अगुवाइमा संघीय संसद्को संसदीय समिति, काठमाडौं, भक्तपुर र ललितपुरका सांसद, तीनै जिल्लाका स्थानीय तहका जनप्रतिनिधि तथा विज्ञबाट अनुमोदन गराइएको थियो । हालको हेडवर्क्स बनेको स्थानमा सधैं पहिरोको खतरा देखिएपछि विकल्पमा नयाँ ठाउँ रोजेको आयोजनाले जनाएको छ । बाढीपहिरोले हेडवर्क्सलाई क्षति गरेको छ । यद्यपि सुरुङलाई भने बाढीले कुनै क्षति गरेको छैन ।

नयाँ हेडवर्क्स बनाउन चार–पाँच वर्ष लाग्ने भएपछि वर्षात्मा पनि मेलम्चीको पानी राजधानीवासीलाई खुबाउन हेलम्बु मुहानमा वैकल्पिक स्रोतको खोजी गरिने भएको छ । वर्षात्मा आउने बाढीका कारण मेलम्ची खोलाको मुख्य स्रोत बन्द गर्नुपर्ने भएपछि मुहान क्षेत्र आसपासका साना खोला र झरनाहरूको पानी सुरुङमा प्रवेश गराउन अध्ययन गरिने जानकारी मेलम्ची विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

मेलम्चीको पानी २६ किमि सुरुङमार्फत सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको छ । ०७७ चैतमा पहिलो पटक काठमाडौं उपत्यकामा पानी वितरण गरिएको थियो । तीन वर्षपछि पनि पानी वितरणले निरन्तरता पाउन सकेको छैन । अध्ययन सुरु भएको तीन दशक र निर्माण थालेको २२ वर्षमा पानी काठमाडौंमा वितरण गरिएको थियो । हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने गरेको छ । दोस्रो चरणमा सिन्धुपाल्चोककै यांग्री र लार्के खोलालाई अहिलेको सुरुङ प्रवेश गराएर दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने योजना छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस