२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पिलो किन आउँछ ? यसको रोकथाम र उपचारका लागि घरेलु उपाय

काठमाडौं । समय अनुसार छालाका विभिन्न समस्याहरू देखिने गर्दछन् । तीमध्ये पिलो पनि एक हो । पिलो एक किसिमको छालाको सङ्क्रमण हो जुन खटिराको रूपमा लिइन्छ । यो असाध्यै दुख्ने र अप्ठ्यारो पार्ने खालको हुन्छ । हुन त छालाको रोग खटिराहरूलाई सामान्य रूपमा लिइन्छ तर पिलो छालाको रोगहरूमध्ये पनि असाध्यै अप्ठ्यारो हुने हुनाले यसको सामाजिक रूपमा चर्चा भएको पाइन्छ ।

पिलो जसलाई आएको छ उसलाई असाध्यै दुख्ने भए पनि पिलोलाई कहिलेकाहीँ ठट्टाको रूपमा पनि हेरिन्छ । किनभने पहिलो कुरा त यो निक्कै अप्ठ्यारो ठाउँमा आउँछ । जस्तो कसैको नाकैमा, कसैको ढाडमा, कसैको घाँटीको पछिल्लो भागमा, कसैको काखीमा त कसैको गुप्ताङ्ग वा सोको वरिपरि पिलो आएको पाइन्छ । सामान्यतया पिलो हेर्दाखेरि डरलाग्दो, पीप भरिएको, रातो, तातो, ठूलो हुने गर्दछ । यसैले यसलाई निचोर्दा रगत र पीप लतपल भई आउने गर्दछ । यसको उपचार विधिको बारेमा जानौं

पिलो के हो ?
हाम्रो छालामा भएका रौंको जरा वा तेल ग्रन्थीमा ब्याक्टेरियाले गर्ने सङ्क्रमणका कारण पिलो आउने गर्दछ । यो हेर्दाखेरि ठूलो खटिराजस्तो हुन्छ । खटिराको मध्यभागमा मुख हुन्छ । त्यसको वरिपरि पीप जमेको देख्न सकिन्छ । यो रातो, तातो र असाध्यै दुख्ने हुन्छ । कुनै–कुनै पिलोमा एकभन्दा बढी मुख हुन्छन् ।

त्यसको कारण एकभन्दा बढी रौंका जराहरू वा तेलग्रन्थीहरूमा सङ्क्रमण हुनु हो । विशेषगरी पुरुषहरूमा धेरैवटा मुख भएको पिलो आएको पाइन्छ । पिलो साधारणतया किशोर-किशोरीहरू तथा बयस्कहरूमा आएको पाइन्छ । बालबालिकाहरूमा पिलो आएको त्यति सुनिँदैन । कसैकसैलाई बारम्बार पनि पिलो आउने गर्दछ ।

किन आउँछ पिलो ?
पिलो यही कारणले आउँछ भनी ठ्याक्कै भन्न सकिँदैन । सामान्यतया मानिसहरूलाई सरसफाइमा ध्यान दिन नसकेको, कामको धपेडी धेरै भएको र खानपानमा ध्यान दिन नसकेको अवस्थामा पिलो आउने गर्दछ । तर, यससँग सम्बन्धित केही कुराहरूलाई याद गर्नुपर्छ । मुख्यतया सरसफाइमा ध्यान दिन नसकेको खण्डमा पिलो आउन सक्दछ ।

किशोरकिशोरीहरूमा हर्मोनको प्रभावले गर्दा छालामा रहेका तैलीय ग्रन्थीहरूबाट धेरै तैलीय पदार्थ निस्किएर फोहोर हुने हुनाले पनि सो उमेर समूहका व्यक्तिहरूमा यो समस्या देखिन सक्दछ । कहिलेकाहीँ केमिकलयुक्त पदार्थहरू जस्तो कस्मेटिकहरू आदिको कारणले गर्दा पनि पिलो आउन सक्दछ । साथै मधुमेह भएका बिरामीहरूलाई पनि पिलो आउने सम्भावना धेरै हुन्छ । त्यतिमात्र होइन शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थाहरू जस्तै एड्स, क्यान्सरजस्ता रोगहरू र स्टेरोइड भएका औषधिको प्रयोग भइरहेको अवस्थामा पनि पिलो आउन सक्छ ।

पिलोको स्याहार यसरी गर्न सकिन्छ ?
सुरुमा पिलो आउँदा रौंका जरावरिपरि सुन्निएको जस्तो देखिन्छ । यो दुख्ने गर्दछ । विस्तारै यो ठूलो हुन्छ, पाक्छ र पीप निस्किन्छ । पिलो आएदेखि पूरै निको हुन लगभग दुई हप्ताजस्तो लाग्दछ । पिलोलाई हातले छुनुभन्दा अगाडि र छोइसकेपछि राम्ररी साबुनपानीले हात धुनुपर्छ ।

जथाभावी पिलो निचोर्नु हुँदैन । पिलोलाई तातोपानीले सेकाउँदा यो छिटो पाक्छ र पीप निस्किन्छ । पानीले सेकाउनका लागि तातो पानीमा नरम तथा सफा सिरकको खोलजस्तो कपडा चोपेर, निचोरेर पिलो आएको ठाँउमा सहन सक्ने तापक्रममा सेकाउनुपर्छ । यो प्रक्रिया दिनमा सात–आठपटकसम्म गर्नुपर्छ । यसरी प्रयोग गरेका कपडाहरूलाई राम्ररी धोएर घाममा सुकाउनुपर्छ ।

पिलो राम्ररी पाकेपछि आफैं पीप बग्दछ । पिलोलाई जबर्जस्ती निचोर्दा यसवरिपरिको छालामा चोट पुग्न गई सङ्क्रमण, शरीरको अन्य भागमा सर्ने तथा रगतमा जाने खतरा हुन सक्दछ ।

नाक तथा मुखवरिपरिको पिलो त अझ कहिले पनि निचोर्नुहुँदैन । यस ठाउँमा आएका पिलोबाट सङ्क्रमण सरेर मस्तिष्कमा समेत सङ्क्रमण हुने खतरा हुन्छ । पीप बगेको खण्डमा सफा कपडाले सोसेर लिनुपर्छ । पिलो आउँदा साबुन लगाएर नुहाउनुहुन्छ । अझ किटाणुनाशक औषधि भएका साबुनले नुहाउँदा राम्रो हुन्छ । पिलोमा जथाभावी झारपात जडीबुटीहरू राख्नुहुँदैन ।

बिरामीको साबुन, रुमाल, लुगा, ओछ्यान कपडा, कस्मेटिक सामानहरू अरूहरूले चलाउनु हुँदैन । खानेकुरामा भिटामिन एयुक्त खानेकुराहरू जस्तै मेवा, फर्सी, सागपातजस्ता खानेकुराहरू प्रशस्त खानुपर्छ । चिल्लो तथा मसलादार खानेकुराहरू कम खानुपर्छ ।

पिलो भएमा उपचारका लागि बजारमा विभिन्न औषधी र मलम किन्न पाइन्छ । जबकि, आयुर्वेदिक औषधीद्वारा यसको समस्याबाट सजिलै मुक्ति पाउन सकिन्छ ।

गहुँ : फाइबर र क्याल्सियमयुक्त गहुँ पिलोको राम्रो औषधि मानिन्छ । गहुँको केही दानालाई केहीबेर चपाएर त्यसको लेपलाई पिलो भएको ठाउँमा लगाउनाले यसबाट मुक्ति पाउन सकिन्छ ।

बेसार : पिलोको राम्रो औषधी बेसार पनि हो । बेसारमा एन्टि-एन्फ्लेमेन्टरी तथा नेचुरल ब्याड प्युरिफिकेसन तत्व हुन्छ । बेसारको प्रयोगले घाउको दुःखाई कम गर्न मद्दत गर्छ । पिलोको वरिपरि बेसारको लेप बनाएर लगाएको खण्डमा यसबाट छिट्टै राहत पाउन सकिन्छ । यस्तै, एक गिलास दूधमा एक चम्चा बेसार हालेर ४-५ दिनसम्म पिएको खण्डमा पनि पिलो छिट्टै निको हुन्छ ।

मेहेन्दी : पिलोको दुःखाई कम गर्न मेहेन्दीको प्रयोग लाभकारी हुनसक्छ । मेहेन्दीमा पाइने चिसो गुण यसका लागि फाइदाजनक हुने गर्छ । अझ, पिसेको मेहेन्दीलाई पिलो भएको ठाउँमा साँझबिहान बाक्लो लेप बनाएर लगाउनु पर्छ ।

निम : एन्टिबायोटिक तत्वले भरिपूर्ण निममा एन्टि-माइक्रोबियल गुण हुन्छ । बिनासाइड इफेक्ट निमले शरीरबाट पिलो निको पार्न मद्दत गर्छ । निमलाई पिसेर लेप बनाई पिलोको वरिपरि लगाउनु पर्छ ।

लसुन : लसुन पिसेर लेप बनाएर घाउमा लगाउनुस् । दैनिक २-३ वटा काँचो लसुनको पोटी चपाएर खानाले पनि पिलोबाट राहत पाउन सकिन्छ ।

प्याज : प्याजमा एन्टिसेप्टिक तत्व पाइन्छ, जसले पिलो निको पार्न मद्दत गर्छ । प्याजको एउटा स्लाइसलाई घाउमा राखेर कपडाले बाँध्नोस् । एक वा दुई घण्टापछि निकालेर यो प्रक्रिया पुनः दोहोर्‍याउनुस् । पिलो छिट्टै निको हुन्छ ।

दही, जिरा र कालो मरिच : दही र जिरा पाउडरको प्रयोगबाट पनि पिलोबाट छुटकारा पाउन सकिन्छ । जिरालाई मसिनो गरी दहीमा मिसाएर त्यसमा थोरै कालो मरिच हाली पिलो भएको ठाउँमा लगाउनुस् । पिलोबाट चाँडै छुटकारा पाउन सकिन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस