२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई प्रेम गर्ने परोपकारी साइमन्सको निधन

Symons a philanthropist who loved Nepal passed away

काठमाडौं । विश्व चर्चित गणितज्ञ, धनाढ्य तथा परोपकारी जिम साइमन्सको ८६ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी स्टक बजारको कारोबारबाट अर्बपति बनेका साइमन्सले नेपालको ग्रामीण स्वास्थ्य सेवालाई दिगो र गुणस्तरीय बनाउनका लागि उल्लेख्य सहयोग गरेका छन् ।

क्वान्टम फिल्ड थ्योरी, स्ट्रिङ थ्योरी तथा कन्डेन्स्ड म्याटर फिजिक्समा नवीनतम अध्ययनहरू प्रकाशित गरेका साइमन्सले पछि थोरै समयमा धेरैभन्दा धेरै पैसा कमाउनतर्फ लागेका थिए । अमेरिकाको प्रसिद्ध शैक्षिक संस्था एमआईटीका प्राध्यापक साइमन्सले सन् १९८२ मा सुपर कम्युटरहरू प्रयोग गरेर अमेरिकी स्टक बजारका तथ्यांक विश्लेषण गरेर लगानी गर्ने रिनाइसेन्स टेक्नोलोजीको स्थापना गरेका थिए । सो संस्थाले सेयर बजारमै लगानी गरेर अर्बौं कमाएको हो ।

फोर्ब्स म्यागजिनमा विश्वको ५५औं धनी व्यक्तिका रूपमा सूचीकृत न्युयोर्क निवासी साइमन्सले आफ्नो सम्पत्तिको ठूलो हिस्सा परोपकारी काममा लगाएका छन् । उनले गरेको दानको ठूलो हिस्सा गणित विषयको अध्ययन तथा अनुसन्धानमा पनि खर्च हुँदै आएको छ ।

जिमको नेपालसँग पनि परोपकारी साइनो थियो । उनले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका थिए । जिमका स्वर्गीय छोरा निक साइमन्सको चाहनाअनुसार नेपालको ग्रामीण स्वास्थ्य क्षेत्रमा सहयोग गर्नकै लागि उनकै नाममा ‘निक साइमन्स् इन्स्टिच्युट’ को स्थापना भएको हो । सन् २००२ नेपाल आएका निक ९ महिना यहाँ रहेर काम गरेका थिए । आफ्नो देश फर्किए पनि भविष्यमा नेपाल पुनः नेपाल आएर यहाँको स्वास्थ्य क्षेत्रमा केही सहयोग गर्ने उनको इच्छा थियो । २००३ मा इन्डोनेसियाको बालीमा पानीमा डुबेर निधन भएपछि निकका बाबु–आमाले उनको अन्तिम इच्छाका रूपमा नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने निर्णय लिएका थिए ।

निक साइमन्स इन्स्टिच्युट ‘एनएसआई’ ले नेपालको ग्रामीण स्वास्थ्यका लागि उपयुक्त चिकित्सकीय जनशक्ति एमडीजीपी, बीएसएलटी उत्पादन गर्ने र स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्नेलगायतका कामहरू गर्दै आएको छ । यसका साथै, एनएसआईले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवास निर्माण गर्नुका साथै पुराना संरचनाको मर्मत–सम्भार, अस्पतालहरुका उच्च प्रविधिको शल्यक्रिया कक्ष तथा प्रसूति कोठाको निर्माणका लागि पनि सहयोग गरिरहेको छ । यस्तै, ग्रामीण भेगमा रहेका अस्पताल तथा स्वास्थ्य चौकीमा शल्यक्रियाका लागि अत्यवश्यक अपरेसन थिएटर नर्स, एनेस्थेसिया, बायोमेडिकल टेक्निसियनको तालिम सञ्चालन तथा छात्रवृत्ति प्रदानसमेत गरिरहेको छ ।

एनएसआईले स्वास्थ्य मन्त्रालयसँग मिलेर अस्पताल शुद्धीकरण कार्यक्रमसमेत चलाइरहेको छ । एनएसआईले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँगको सहकार्यमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुका लागि विभिन्न किसिमका तालिम पनि सञ्चालन गरिरहेको छ । एनएसआईले सबैभन्दा पहिला पाटन अस्पतालमा नयाँ प्रसूति भवनको निर्माण गरेर नेपालमा सहयोग यात्राको थालनी गरेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस