२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनमतलाई कांग्रेसले मुख्यमन्त्री अफर गरेपछि केन्द्रीय गठबन्धन भत्कियो

जनकपुरधाम । मधेश प्रदेशमा सत्ता गठबन्धनकै सरकारबाट आइतबार नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिए । दुवै दलले समर्थन फिर्ता लिएपछि जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा परेका छन् । सरकार छाडेलगत्तै एमाले केन्द्रीय सदस्य संजीव झा ‘सुरज’ ले सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गरेका थिए । तस्बिरमा एमाले, माओवादी, जनमत पार्टी र लोसपाका दलका नेता–उपनेताहरु आपसमा हात मिलाएको देखिन्छ । लोसपा र जनमत वर्तमान केन्द्रीय सत्ता गठबन्धनबाहिरका दल हुन् । जसपा बाहिरिएपछि अब केन्द्रमापनि उनीहरु भित्रिने शंका गरिएको थियो ।

उक्त तस्बिरले स्पष्ट सन्देश दिन्छ, अब चार दलको नयाँ सरकार बन्छ । यी चारै दलको सांसद संख्या जोड्दा सरकार बनाउन बहुमत पनि पुग्ने अवस्था छ । एमाले नेता झाले तस्बिर सार्वजनिक गर्दै अब एमाले नेतृत्वमा चार दलको नयाँ सरकार बन्ने दाबी पनि गरेका थिए । तर रात नबित्दै चारै दल पुनः अलग्गिएका छन् ।

स्रोतका अनुसार पालैपालो मुख्यमन्त्री लिने र सुरुमा ठूलो दलको हैसियतले एमालेलाई नेतृत्व दिने विषयमा चारै दलबीच सहमति थियो । तर केही घण्टा नबित्दै जनमत र माओवादीले पहिले आफ्नो दलले नेतृत्व गर्ने दाबी गर्न थालेका छन् । यो असमझदारीले नयाँ सरकारका लागि दाबी पेश गर्ने विषय अन्यौलमा परेको छ । एमाले नेतृत्वमा प्रदेश सरकार बनाउन लोसपा नेतृत्व पनि हच्किएको छ । जनमतका एक सांसदका अनुसार लोसपा ब्याक भएको र माओवादीले पहिले आफ्नो दलले नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेपछि नयाँ सरकार गठन अन्यौलमा परेको हो ।

यता, अल्पमतमा परेका मुख्यमन्त्री यादवले आफ्नो सरकार टिकाउने खेल सुरु गरेका छन् । उनले कांग्रेस, लोसपा र जनमतसँग सहयोग मागेका छन् । कांग्रेस सहयोग गर्न तयार भइसकेको स्रोतले जनायो । कांग्रेस दलका नेता कृष्णप्रसाद यादव जनमतलाई मुख्यमन्त्री दिएर भए पनि सरकार बनाउन तयार भएको बुझिएको छ । उनले जनमतका दलका नेता महेशप्रसाद यादव र लोसपा दलका उपनेता उपेन्द्र महतोसंग छलफल गरेका छन् । कांग्रेस र जसपा नेपालबाट मुख्यमन्त्रीको अफर आएको जनमतका एक सांसदले पुष्टि गरे । कांग्रेस दलका नेता यादवले लोसपा अध्यक्ष महन्त ठाकुरसँग भेटेरै पनि छलफल गरेका हुन् ।

लोसपाले प्रदेशमा सरकार तथा विभिन्न विकल्पबारे छलफल गर्न सांसद जितेन्द्र सोनललाई जिम्मेवारी दिएको छ । एमाले, माओवादी र जनमतसँग लोसपा दलका उपनेता महतो र सांसद रानी शर्माले छलफल गरेका थिए । जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले एमाले(माओवादीसँग गठबन्धन नभएको बताए । उनी भन्छन्, ‘प्रदेशमा जनमत कुन गठबन्धनमा रहने निर्णय भइसकेको छैन । कांग्रेससँग पनि सहकार्य हुनसक्छ ।’

 

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस