२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सदनको अवरोध हटाउन प्रधानमन्त्रीले गरे अनौपचारिक संवाद

काठमाडौं । सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन्।

समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सत्तारुढ नेकपा (एमाले)लगायत दलका नेतासँग सहमतिको उपायबारे अनौपचारिक संवाद गरेको उनको सचिवालयले जनाएको छ।

यही विषयमा आज नेपाली कांग्रेसको पदाधिकारी बैठक भएको छ। सो दलको शुक्रबारको संसदीय दलको बैठकले सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेकोसमेत संलग्नताको आरोप लगाउँदै आएकोबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग पुनःअघि सारेको थियो।

सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अहिलेसम्म सहमतिका लागि ठोस प्रगति नभए पनि अब सदनको बैठक बस्ने दिनसम्म सरकारले सहमतिका लागि कुनै न कुनै उपाय निकाल्ने आशा व्यक्त गरे।

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पनि शीर्ष तहबाट छलफल भई निकास निस्कने आशा व्यक्त गरे। संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान राखेपछि पहिलो दिनका बैठकका दुवै सदनका कार्यसूची प्रभावित भएका थिए। आगामी जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते साँझ ६ बजे र राष्ट्रियसभाको अर्को बैठक जेठ १ गते साँझ ५:३० बजे राखिएको छ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस