२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बृहस्पति ग्रहको वृष राशिमा गोचर: कस्तो रहनेछ तपाईंको भाग्य ?

देवताहरुको गुरु ‘बृहस्पति’ ग्रहले मङ्गल ग्रहको आधिपत्य रहेको मेष राशिलाई छाडेर शुक्रको आधिपत्य रहेको राशि वृषमा गोचर गरेको छ । वैदिक ज्योतिष अनुसार २०८१ साल वैशाख १७ गते १६:११ अर्थात् दिउँसो ४:११ मा बृहस्पति ग्रह मेष राशिबाट वृष राशिमा प्रवेश गरेको छ । बृहस्पति ग्रह २०८१ सालभरि वृष राशिमा नै रहन्छन्।

ज्योतिषमा गुरु अर्थात् बृहस्पति ग्रहलाई सर्वोच्च ज्ञानका साथै न्याय, विकास, आध्यात्मिक, भावनात्मक तथा मानसिक स्थितिको कारक मानिन्छ। गुरु बृहस्पतिको बुद्धिमान, उदारता, धर्म, विश्वास, दर्शन, विवाह, संतान, शिक्षा, सौभाग्य, पुरस्कारको अवसर तथा कानूनको साथ विशिष्ट सम्बन्ध छ। यी विशेषताले युक्त बृहस्पति ग्रहको वृष राशिको प्रभाव तपाईंलाई तथा अन्य राशिका व्यक्तिहरुको कस्तो पर्न सक्छ ?, हामी यो विषयमा चर्चा गर्नेछौं।

आउनुहोस् जानौं बृहस्पति ग्रहको वृष राशिको गोचरको विभिन्न राशिहरुमा पर्ने प्रभाव-

मेष राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

मेष राशिबाट बृहस्पति ग्रहको गोचर द्वितीय स्थानमा हुनेछ। यो समयमा धन लाभको मौका मिल्नेछ भने साथीभाइहरु बाट पनि राम्रै सहयोग मिल्नेछ। बोलीको प्रभावले आफ्नोपन बढाउन मद्दत मिल्नेछ भने सामाजिक एवं राजनैतिक कार्यमा अग्रसर हुनुको साथै मान सम्मान पनि मिल्नेछ। जुन योजनाहरु विगतमा बनाउनुभएको थियो ती योजनाहरुलाई निरन्तरता दिने मौका मिल्नेछ साथै विवाहको इच्छा हुनेहरु वैवाहिक सम्बन्धमा गासिने सम्भावना रहेको छ। केही आवश्यक कार्यको लागि लामो यात्रा तर्फ जाने सम्भावना पनि बनेको छ भने केही मानसिक तनावले पनि अप्ठ्यारो परिस्थिति सिर्जना गर्न सक्छ।

वृष राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

वृष राशि भएका ब्यक्तिहरुको लागि यो गोचर शुभ अशुभ दुवै प्रभाव पार्नेछ। खासगरी व्यक्तित्व विकासको समय रहनुका साथै व्यस्तता पनि रहन्छ। यो समयमा यदि तपाईं आफ्नो पूर्ण क्षमताबाट कार्य गर्नुभयो भने आउदो भविष्यको लागि सुखमय एवं सकारात्मक रहनेछ। प्रेम सम्बन्धको मामिलामा उतारचढाव आउने साथै धैर्यता एवं निर्णय लिन गाह्रो हुने अवस्था आउन सक्छ। गुरुको गोचरले रोकिएका काम पूरा गर्न, बिग्रेका सम्बन्ध सुधार गर्न, जागिरमा पदोन्नति प्राप्त गर्न यो अवधिलाई शुभ मान्न सकिन्छ। विषेशत: घर बनाउने, गाडी किन्ने, व्यापार बिस्तार गर्ने आदि सकारात्मक कुराहरु देखिनेछन् साथै आर्थिक अवस्थामा पनि केही सुधार मान्न सकिन्छ। विद्यार्थी वर्गलाई पनि यो समय राम्रो रहन सक्छ।

मिथुन राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

बृहस्पति ग्रहको गोचर तपाईंको राशिबाट द्वादश स्थानमा रहने भएकाले यो समयमा तपाईंको लागि केही चिन्ताजनक वा अप्ठ्यारो हुन सक्छ। स्वास्थ्यमा समस्या, खर्च आदिले मनमा तनाव दिनसक्छ भने परिस्थिति अनुकूल नहुँदा घरबाट टाढाको दूरी पनि बन्न सक्छ। वैदेशिक क्षेत्रमा अग्रसर हुने सम्भावना रहेको छ। मुटुमा समस्या आउने, रगतमा खराबी हुने आदि पनि हुनसक्छ। चाडै निर्णय लिँदा पछुताउनुपर्ने हुनसक्छ तसर्थ यी कुरामा सतर्क रहेको राम्रो मानिन्छ। गुप्त कार्यहरू अगाडि बढाउने र जिम्मेवारी सताउने समय रहेको छ।

कर्कट राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

बृहस्पति ग्रहको गोचर तपाईंको राशिबाट एकादश स्थानमा रहने भएकाले समय केही अनुकुल रहन सक्छ। तपाईंलाई कोहि व्यक्ति विशेषको सहायताबाट लाभ पनि मिल्नेछ। आम्दानीका स्रोत बढ्ने, तलब वृद्धि हुने, पदोन्नति हुने सम्भावनाको साथै पढाईको मामिलामा पनि प्रत्यक्ष शुभ प्रभाव पर्नेछ। तपाईं आफ्नो प्रतिभालाई अझ सहज ढ्ङ्गले प्रस्तुत गर्न पनि सक्नुहुनेछ। नयाँ प्रेम सम्बन्धहरु गासिने छन् भने समय मनोरञ्जनमा बित्नेछ। साझेदारका काममा पनि लाभ मिल्नेछ।

सिंह राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

बृहस्पति ग्रहको गोचर तपाईंको राशिबाट दशम स्थानमा रहने भएकाले तपाईंको लागि कार्यक्षेत्र केही नयाँ नियम एवं काम उपस्थित हुनसक्छ। यो समय तपाईंको कामतर्फ ध्यान जाने भएकाले कार्यसिद्धिको समय छ। परिवारको लागि समय दिनुपर्नेछ जसले गर्दा तपाईं आफू स्वयंको लागि समय छुट्याउन गाह्रो हुने हुनसक्छ साथै पेटमा गढबढ, चोटपटक लाग्ने समस्याले पनि दुख दिन सक्छ। कामको जिम्मेवारी अझ थपिनुका साथै आर्थिक क्षेत्र पनि सबल बन्न सक्ने समय रहेको छ। विद्यार्थीको पढाई राम्रो रहन सक्ने समय छ।

कन्या राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

गुरुको भाग्य भावमा गोचर हुने भएकाले कार्यमा सफलता प्राप्ती हुने सम्भावना रहेको छ भने मनले चिताएको कुराहरू पनि पुरा हुनेछ। साथसाथै यो समयमा यात्राको सम्भावना पनि देखिन्छ। खासगरी धार्मिक स्थलहरुको यात्राको अवसर मिल्नेछ साथै आर्थिक क्षेत्रमा पनि लाभ प्राप्त हुने देखिन्छ। पढाइमा प्रगति मिल्नेछ भने नयाँ कुरा सिक्ने, व्यक्तित्व विकास गर्ने अवसर पनि प्राप्त हुनेछ। नयाँ वाहन आदिको सुख एवं पदोन्नतिको सम्भावना रहेको छ।

तुला राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

तुला राशिको लागि गुरुको गोचर अष्टम भावमा हुने भएकाले केही अप्ठ्यारो परिस्थितिको सिर्जना हुनसक्छ। मुखमा घाउ आउने, संक्रमणका रोगले सताउने, चोटपटक लाग्ने आदि संभावनाहरु रहेका छन्। कार्यहरूमा बिलम्ब हुने, रोकावट आउने आदि स्थिति पनि बन्न सक्छ। संघर्ष धेरै गर्नुपर्नेछ भने संघर्ष गरेअनुसारको फल पनि प्राप्ति हुनेछ। यो अवधिभर मानसिक रुपमा तनाव झेल्नुपरे तापनि आध्यात्मिक एवं अनुसन्धानात्मक विषयमा सफलता मिल्नेछ। बृहस्पतिको बाह्रौ भावमा दृष्टि रहने भएकाले खर्चको सम्भावना सँगसँगै कुनै नयाँ कार्यको लागि लगानी वा नयाँ कामको लागि सोच बढ्ने पनि हुनेछ। पैतृक सम्पती बाट लाभ मिल्नेछ।

वृश्चिक राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

गुरुको गोचर सप्तम भावमा भैरहेको छ। तपाईंको लागि विशेषत: कुनै नयाँ कामको शुरुवात गर्ने मौका बनेको छ। साथीहरूको सहयोग एवं आफ्नो कुनै नजिकको व्यक्तिको सहयोगले रोकिएको काम पूरा हुने राम्रो सम्भावना देखिन्छ। विवाह, प्रेम सम्बन्ध राम्रो हुने इत्यादि योग पनि देखिएको छ। आयस्थानमा बृहस्पतिले दृष्टि दिएको कारण आयस्रोतहरु बढ्ने तथा जोशजाँगरले कार्यमा अग्रसर हुने देखिन्छ। अध्ययन अध्यापनको क्षेत्रमा पनि यो समयमा सफलता प्राप्त हुन सक्ने योग रहेको छ।

धनु राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

बृहस्पति ग्रहको गोचर तपाईंको राशिबाट षष्ठ स्थानमा हुनेछ। यो समय तपाईंको लागि संघर्ष एवं प्रतियोगितात्मक हुनेछ। धनार्जन कम हुनसक्छ भने खर्च पनि अधिक हुने देखिन्छ । यो समयमा कुनै रोगहरुले पनि अप्ठ्यारो पार्न सक्छ। अचानक आपसी सम्बन्धमा खटपटको अवस्था सिर्जना हुनसक्छ। मानसिक समस्या बढ्न सक्छ भने तपाईंको विरोधीहरुले तपाईं माथि अझ बढी दबाब सिर्जना गर्ने प्रयास गर्नेछन्। विद्यार्थीले पढाईमा उचित ध्यान दिनुपर्ने समय छ। बिहिवारको दिनमा चिनी दान गरे राम्रो हुनेछ।

मकर राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

बृहस्पतिको पञ्चम स्थानको गोचरले शुभ फल प्रदान गर्नेछ। शिक्षा एवं अध्यात्मको क्षेत्रमा उपलब्धि हासिल हुनेछ। विद्यार्थी वर्गको लागि सफलता प्राप्त गर्न सक्ने र आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्ने समय छ भने शैक्षिक क्षेत्रमा काम गर्नेहरुले पनि राम्रो प्रगति गर्न सक्ने समय छ। सन्तानको लागि प्रयासरत दम्पतिहरुले यो समयमा सन्तान प्राप्त गर्न सक्ने समय छ। आम्दानी बढ्ने, कार्यक्षेत्र तथा व्यापारबाट सोचेजस्तै प्रगति हुने, आर्थिक मामिलामा सुदृढ हुँदै जाने जस्ता शुभ प्रभावहरु देखिनेछन्।

कुम्भ राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

बृहस्पति ग्रहको गोचर तपाईंको राशिबाट चतुर्थ स्थानमा हुनेछ। यसको प्रभावले घरभित्र कुनै समस्याले अल्झाउने, अचानक धन हानी, सम्बन्धमा समस्या एवं चोटपटक आदिको नकारात्मक प्रभावहरु देखिन्छ। रोग निको हुन गाह्रो हुने, नयाँ कार्यको सोच राख्ने, विदेश यात्रा एवं घरभन्दा टाढा रहने तरखरमा रहने आदि प्रभावहरु देखिनुका साथै गरिरहेको कार्यमा पनि केही असन्तुष्टि आउन सक्छ। सकारात्मक पक्षबाट हेर्दा वस्त्र आभूषण इत्यादिको प्राप्ति पनि हुनेछ। संघर्ष बनिरहन्छ। सोमबारको दिन शिवलिङ्गमा जल चढाउदा तथा शाहाकारी भोजन गर्दा राम्रो हुन सक्छ।

मीन राशिमा बृहस्पतिको वृष राशिको गोचरको प्रभाव:

मीन राशिबाट बृहस्पतिको गोचर तृतीय स्थानमा हुनेछ। दाजुभाई तथा दिदीबहिनीहरु सँग राम्रो सम्बन्ध कायम हुन सक्छ। उत्साह तथा मेहनतमा वृद्धि हुनेछ भने जागिरको एवं व्यवसायको क्षेत्रमा तपाईंको योजना अगाडि आउनुका साथै उन्नतीको मौका पनि मिल्नेछ। यसैगरी सकारात्मक भएर कार्य गर्ने सम्भावनाहरु पनि बनेका छन्। नयाँ योजनाहरु एवं विचारधाराहरु बनिरहे तापनि निर्णय लिन भने मुस्किल नै देखिनेछ। बिहिबारको दिन विष्णुको दर्शन गर्नुभयो भने कार्यक्षेत्रसँग सम्बन्धित सुधार आउनेछन्।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस