२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमसीसीको पहिलो ठेक्का लाग्यो

काठमाडौं । एमसीए–नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा बन्ने न्यू बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । यो एमसीसी परियोजनाअन्तर्गत निर्माणसम्बन्धी पहिलो ठेक्का हो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माण हुने ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माणको लागि लिङ्कसन इण्डिया प्रालिसँग एमसीए नेपालले बिहीबार ठेक्का सम्झौता गरेको हो । सम्झौताअनुसार सबस्टेसनको निर्माण ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ ।

नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्प्सन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थितिमा नवलपरासीमा आयोजित समारोहमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिङ्कसन इण्डियाका प्रतिनिधिले हस्ताक्षर गरे । कार्यक्रममा राजदूत थम्प्सनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको र यसको निर्माण सुनिश्चित गर्न अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

यो सबस्टेसन नेपाल विद्युत् प्राधिकरणको प्राथमिकतामा रहेको संरचना रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो सबस्टेसनले सीमापार ऊर्जा व्यापारमा उल्लेख्य योगदान गर्ने तथा विद्यमान २२० केभी सबस्टेशनलाई सघाउने पनि उनले बताए । कार्यक्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिबारे जानकारी गराएका थिए ।

एमसीए–नेपालले यो परियोजनाअन्तर्गत तीनवटा सबस्टेसन निर्माण गर्दै छ । बाँकी दुई सबस्टेसन नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा निर्माण हुँदैछन् । यी दुई सबस्टेसन निर्माणका लागि पनि प्राविधिक रुपमा योग्य ठेकेदारले पेश गरेको वित्तीय प्रस्ताव खोलिसकिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस