२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालमन्दिर प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान

२७ वैशाख, काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) पुगेको छ । बालमन्दिरकोतर्फबाट आज बिहीबार जाहेरी परेसँगै सीआईबीले यसको औपचारिक अनुसन्धान सुरु गरेको छ ।

सीआईबी स्रोतले बिहीबार जाहेरी परेको पुष्टि गरे पनि कसको तर्फबाट क-कसलाई विपक्षी बनाउँदै जाहेरी परेको बारे भने केही खुलाएको छैन । ‘जाहेरी परेको हो । अब हाम्रोतर्फबाट औपचारिक अनुसन्धान सुरु गछौं । अहिले नै थप केही बताउन मिल्ने अवस्था छैन,’ सीआईबीका एक उच्च अधिकारीले भने ।

२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधीग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो । उक्त जग्गा दुरुपयोग भएको भन्दै अहिले सीआईबीमा जाहेरी परेको हो । यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रुपमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानबाट समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रुपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।

बिहीबार भने बालमन्दिरकोतर्फबाट जाहेरी परेसँगै औपचारिक रुपमा अनुसन्धान र मुद्दाको प्रक्रिया बढ्ने सीआईबीले जनाएको छ । बालअधिकारसम्बन्धी महासन्धिले उठाएका मुद्दाहरु लागू गर्न भन्दै २०४९ सालमा सरकारबाट अधिकार पाएको बालमन्दिरले भने आफ्नो क्षेत्राधिकार अनुसार काम नगरी जग्गा दुरुपयोग गरिएको दाबी छ ।

११९ रोपनीमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायहरूले भोगचलन गरिरहेका छन् । त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको सेटिङमा मन्दिरको २९ रोपनी ४ आना जग्गा निजी विद्यालय बृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको बताइएको छ ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस