२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कैलालीको सुधारगृहमा युवकको मृत्यु, निष्पक्ष अनुसन्धान गर्न अभिभावकको माग

Kailali

२६ वैशाख, धनगढी । कैलालीमा सुधारगृहमा राखिएका एक युवकको मृत्यु भएको छ । उनका अभिभावकले मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना केन्द्र (सुधारगृह) मा २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट बुधबार राति हाम फालेको बताए । त्यसबाट घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी पालको भनाइ छ । शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको छ । डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हामफालेको बुझिएको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको बताए ।

तर, मृतकका परिवारले भने घटनाको प्रकृति हेर्दा शाहीको भवितव्य नभएर हत्या भएको हुनसक्ने भन्दै छानबिनको माग गरेका छन् । मृतकका बुवा धनराज शाहीले छोराको हत्या भएको जिकीर गर्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए । उनले सुधार केन्द्रले विगत २५ दिनदेखि छोरालाई भेटघाट गर्न नदिइएको दाबी गर्दै कुटपिट गरेर छोराको हत्या गरिएको आरोप लगाए । शाहीलाई उनका अभिभावकले गत पुसमा सुधार केन्द्रमा राखेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस