२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुख्यमन्त्री कार्कीले गुजारे विश्वासको मत लिने समय, अब के हुन्छ ?

Maoists will give vote of confidence to Chief Minister Kedar Karki

२६ वैशाख, विराटनगर । कोशी प्रदेशमा नेकपा (एमाले) र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने समय गुजारेका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत नलिई ३० दिनको समय गुजारेका हुन् । विश्वासको मत लिने समय गुजारेका मुख्यमन्त्री कार्की राजीनामा पनि नदिने अडानमा छन् ।

२६ चैतमा समर्थन फिर्ता लिएका एमाले माओवादी केन्द्रले अल्पमतमा परेको ३० दिन भित्र विश्वासको मत लिनका लागि ७ वैशाखमा प्रदेशसभाबाट संकल्प प्रस्ताव नै पारित गरेका थिए । संकल्प प्रस्ताव पारित भए पनि मुख्यमन्त्रीले वास्ता गरेनन् । सरकार गठनको अन्तिम विकल्प अनुसार आफू मुख्यमन्त्री भएको दाबी गर्दै कार्कीले विश्वासको मत लिन बाध्य नहुने र राजीनामा पनि नदिने अडानमा बसेका छन्। मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि स्वत पदमुक्त भएको प्रदेशका प्रतिपक्षी दल एमाले माओवादी केन्द्रको दाबी छ ।

मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि अब नयाँ सरकार गठनको प्रारम्भ हुनुपर्ने उनीहरुको माग छ । मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि कोशी प्रदेशमा नयाँ सरकार गठन आह्वानको तयारी भएको बुझिएको छ । संविधानको अन्य उपधारा अनुसार गठन भएका मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत नलिए स्वत पदमुक्त हुने प्रावधान र केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दा सर्वोच्च अदालतको संवैधानिक इजलासको व्याख्या अनुसार केदार कार्की स्वत पदमुक्त भएकाले नयाँ सरकार गठनका लागि आह्वानका लागि प्रदेश प्रमुखले तयारी गरेका हुन् ।

प्रदेश प्रमुखले पनि आज–भोलि नै सरकार गठनका लागि आह्वान गर्ने सम्भावना रहेको स्रोतले बतायो । उनी संविधानको धारा १६८ को उपधारा ५ अनुसार अघि बढ्ने गरी परामर्शमा छन् । नेकपा एमालेले भने उपधारा २ अनुसार अघि बढ्न सुझाव दिएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङ पाँचथरबाट फर्किएर आज बिहान विराटनगर आइपुगेका छन् । अब वर्तमान मुख्यमन्त्रीलाई कायममुकायमको जिम्मेवारी दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । प्रदेश प्रमुखले नयाँ सरकार आह्वान गरे केदार कार्की सर्वोच्च जानेछन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरे असंवैधानिक हुने र त्यसका विरुद्ध आफू सर्वोच्च अदालत जाने मुख्यमन्त्री केदार कार्कीले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस