२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वाणिज्य बैंकहरुले धितोपत्रमा गरेको लगानी बढ्यो [ सूचीसहित ]

काठमाडौं । वाणिज्य बैंकहरुले उल्लेख्य मात्रामा कर्जा लगानी विस्तार गर्न नसके पनि धितोपत्र औजाहरुमा भने लगानी बढाएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुले कुल १० खर्ब ७० अर्ब ८१ करोड ३६ लाख ४५ रुपैयाँ ऋणपत्रसहितका विभिन्न धितोपत्रहरुमा लगानी गरेका हुन् ।

बैंकहरुले आफ्नो वित्तीय विवरणमा सेयर बजार, ऋणपत्र, सामूहिक लगानी कोष तथा सरकारले जारी गरेका ऋणपत्रहरुमा गरेको लगानीलाई ‘धितोपत्र लगानी’ शीर्षक अन्तर्गत देखाउने गर्दछन् । १ वर्षको अवधिमा यो शीर्षकमा लगानी २६.६४ प्रतिशतले बढेको बैंकहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणबाट देखिएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा भने वाणिज्य बैंकहरुले कुल ८ खर्ब ४५ अर्ब ५५ करोड २३ लाख ४८ हजार रुपैयाँ धितोपत्रहरुमा लगानी गरेका थिए । सबैभन्दा धेरै धितोपत्र औजारमा लगानी गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । १ वर्षमा यसको धितोपत्र औजारहरुमा लगानी १३.२६ प्रतिशतले बढेर ८६ अर्ब ६२ करोड १८ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा ३ बैंकको धितोपत्र औजारमा भएको लगानी घटेको छ भने १७ बैंकको बढेको छ । यो शीर्षकमा सबैभन्दा धेरै लगानी बढाउनेमा नेपाल एसबीआई बैंक रहेको छ । १ वर्षको अवधिमा यस बैंकको धितोपत्र औजारमा लगानी ११५.८० प्रतिशतले बढेर ५४ अर्ब ७१ करोड २९ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

केन्द्रीय बैंकको नियामकीय प्रवधान अनुसार वाणिज्य बैंकहरुले कुनै पनि १ संगठित संस्थाको सेयर, ऋणपत्र र सामूहिक लगानी कोषको सेयर खरिद गर्दा कुल प्राथमिक पुँजीको बढीमा १० प्रतिशत मात्र किन्न पाउने व्यवस्था गरेको छ । त्यस्तै, सबै संगठित संस्थाको सेयर, ऋणपत्र र सामूहिक लगानी कोषमा प्राथमिक पुँजीको ३० प्रतिशत मात्रै सेयर खरिद गर्न पाउने व्यवस्था छ । यही नियमभित्र रहेर बैंकहरुले धितोपत्र खरिद गर्न पाउनेछन् ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस