२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलिया पक्राउ

6 middlemen arrested from Malpot and Napi office

नेपालगन्ज, वैशाख २५ गते । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जना बिचौलियालाई पक्राउ गरिएको छ । कोहलपुरको नापी र मालपोत कार्यालयमा बिचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो प्राप्त भएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको नेतृत्वमा गएको सुरक्षा निकायसहितको टोलीले नापी र मालपोत कार्यालयको अनुगमन गर्दा ६ जना बिचौलियालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

उनले कार्यालय भित्र केही व्यक्तिहरुले सेवाग्राहीबाट रकम लिएर विचौलियाको काम गरिरहेको सूचना प्राप्त भएपछि छड्के अनुगमन गरेर उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ परेकामध्ये तीन जना वकिल, एक जना कोहलपुर नगरपालिकाका करार कर्मचारी र दुई जना सेवाग्राही रहेको पाइएको प्रहरीले जनाएको छ । सेवाग्राहीलाई भने सामान्य सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले कोहलपुरस्थित नापी र मालपोतका बारेमा धेरै पटक विभिन्न गुनासाहरु प्राप्त भएकोले छड्के गरिएको बताए । उनले बिचौलिया पक्राउ परेपछि सर्वसाधारणका गुनासाहरु सही रहेको पुष्टि भएको बताए । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा रहेको नापी, मालपोत र यातायात जस्ता कार्यालयहरुमा पनि विचौलियाको विगविगि रहेको आम नागरिकको गुनासो छ । ती कार्यालयहरुमा पनि बेला बेलामा छड्के अनुगमन आवश्यक रहेको नागरिक समाजका अगुवा तथा व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस