२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चार्टर जहाज छाडेर नेपालको राष्ट्रिय ध्वजावाहकमा जापानका विदेशमन्त्री फिर्ता

काठमाड । जापानका विदेशमन्त्री कामिकावा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छिन् । विमान चार्टर गरी नेपाल आएकी मन्त्री योको स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडानमा भएको छ । उनको चार्टर गरिएको विमानका चालक दलका सदस्यहरूलाई आराम गर्न दिएर उनी भने अत्यन्तै व्यस्त कार्यक्रम सकेर अगाडि नै फर्किएकी हुन् । उनी टोकियोको नारिता विमानस्थलका लागि राति १०ः३० को उडान नम्बर आरए ३४४ बाट गएकी हुन् । उनलाई क्याप्टेन विजय लामा र सहचालक अमृतराज महर्जनले टोकियो पुर्‍याए । विदेशमन्त्री योकोलाई श्रीलङ्काबाट ल्याउने जहाजचाहिँ आज चालक दलका सदस्यलाई मात्र लिएर जाने छ ।

विदेशमन्त्री योकोको पहिलो नेपाल भ्रमण छोटो तर महत्वपूर्ण द्विपक्षीय र बहुपक्षीय सम्बन्ध स्थापनाका लागि अर्थपूर्ण रहेको छ । तीन वटा उदीयमान अफ्रिकी देशको भ्रमणबाट श्रीलङ्का हुँदै नेपालको भ्रमण आफैँमा एउटा सन्देशमूलक यात्रा रहेकामा स्वदेश फर्कंदा नेपालको ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडान रोज्नु अर्को सन्देशमूलक रहेको छ ।

खासगरी नेपाली वायुसेवाका लागि युरोपको आकाशमा लागेको प्रतिबन्धको अवस्थामा बहुपक्षीय सम्बन्ध स्थापनामा यो अर्थपूर्ण रहेको छ । भ्रमणको अन्त्यमा सीमित सञ्चारकर्मीलाई भ्रमणको समीक्षात्मक जानकारी गराउँदै भ्रमण दलका सदस्य तथा उपप्रेस सचिव कानेको मारिकोले विश्वका कतिपय मामिलामा नेपाल र जापानले सहकार्य गर्न सक्ने सम्भावनाका क्षेत्र पहिल्याउने बताए । जापानले नेपाललाई गरेका सहयोग र सम्भावनाका क्षेत्रका साथै रुस र युक्रेन युद्ध, इजरायल र हमासबिचको आक्रमण र प्रत्याक्रमणमा नेपाल र जापानको अडान समान रहेको सन्देश दिए । राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा विदेशमन्त्री योकोले नेपालको विकास र स्थिरता एसिया क्षेत्रकै लागि आवश्यक रहेको महसुस गरेर जापानले नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

त्यसका अतिरिक्त विश्वमा साझा मञ्चहरूमा नेपाल र जापानको सहकार्यात्मक प्रस्तुति, नेपाल र जापानले भोग्नु परेका जलवायु परिवर्तन र विपत्का समस्याबारे सहकार्य गर्न सकिनेबारे भ्रमण फलदायी रहेको बताइन् । सन् २०२६ मा नेपाल विकासशील देशमा स्तरोन्नति भएपछिको सङ्क्रमणकालमा पनि जापानले नेपाललाई सहयोग गर्ने स्पष्ट सन्देश दिँदै उनले आगामी सहयोगका क्षेत्र शिक्षा, पूर्वाधार विकास, जलविद्युत्, यातायात सम्पर्क सञ्जालजस्ता क्षेत्रमा रहने उल्लेख गरिन् । विदेशमन्त्री योको नेपाल आउँदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालसहितको उच्चस्तरीय टोलीले स्वागत गरेको थियो । दिउँसो उनले वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरिन् । उनको सम्मानमा परराष्ट्रमन्त्री श्रेष्ठले रात्रिभोज आयोजना गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस