२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपाको निष्कर्ष: गाउँले मात्र हैन इलाम जस्तो सहरीले पत्याएन, यही शैलीले पार्टी अघि बढ्दैन

 

२१ वैशाख, काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धक्का लागेको ठहरसहित निर्मम समीक्षा गर्ने भएको छ । इलाममा प्राप्त परिणाम रास्वपाका लागि अनपेक्षित भएको पार्टी बैठकमा छलफल भएको छ । रास्वपालाई प्राप्त नतिजाले शिक्षा दिएको शुक्रबार बसेको सचिवालयको बैठकले निष्कर्ष निकालेको छ । ‘जनताले मतको घण्टी नबजाएर सांकेतिक घण्टी बजाइदिएको रूपमा ग्रहण गर्ने निर्णय भएको छ,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले भने ।

उपनिर्वाचनमा चौथो स्थानमा खुम्चिएकाले पार्टीभित्र कमी कमजोरी भएको निष्कर्ष निकालिएको छ । पार्टीले अहिलेसम्म गरिरहेका कार्यको पुनर्मूल्यांकन गरिने भएको छ । ‘पुनर्मूल्यांकन गर्दा पार्टीले लिएको संगठनको आधार, क्याडर बेस्डमा जाने वा मास बेस्डमा जाने सबै कुराको पुनरावलोकन गर्ने निर्णय भएको छ,’ ढकालले भने । कमजोरीहरू पहिल्याउनका लागि देशभर भ्रमण गरी अध्ययन प्रतिवेदन पेस गर्न महामन्त्री ढकाललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

महामन्त्री ढकाल सहितको टोलीले जेठको दोस्रो सातादेखि पार्टीको अवस्था र सुधार गर्नुपर्ने विषय पहिल्याउन देशभर अध्ययन भ्रमण गर्ने भएको छ । ढकालले पेस गरेको प्रतिवेदनका आधारमा पार्टीले नयाँ दिशा तय गर्ने भएको छ । रास्वपाले सहरी क्षेत्रबाट मत बढाउने नेताहरूको अपेक्षा थियो । सहरी क्षेत्रमा मत सोचेअनुसारको मत नआउनुमा अन्य दलले चलाएको अनर्गल प्रचारले काम गरेको बैठकको निचोड छ ।

अन्य दलले चलाएको भ्रमको निवारण गर्नलाई संगठनको आवश्यकता रहेको विचार बैठकमा आएका थिए । बैठकमा संगठनको आवश्यकता हुनुपर्ने र हुनु नहुने विचार व्यक्त भएको ढकालले बताए । सहरी वडाबाट रास्वपाले कहींबाट पनि सन्तोषजनक मत ल्याउन सकेन । ६ वटा पालिका रहेको निर्वाचन क्षेत्रमा इलाम नगरपालिका बाहेक सबैमा रास्वपा चौथो शक्ति रह्यो ।

इलाम नगरपालिकामा १६ सय ५५ मत पाएर तेस्रो रह्यो भने अन्य सबै पालिकामा चौथो स्थानबाट माथि चढ्न सकेन । निर्वाचन क्षेत्रमा रहेका ४२ वडामा रास्वपा उम्मेदवारले सर्वाधिक मत इलाम नगरपालिका वडा नम्बर ९ मा पाए । उक्त वडामा पाएको ३५६ मत पनि तेस्रो स्थानको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस