२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डढेलो लगाउनेको सुराकी दिनेलाई ५० हजार पुरस्कार

सिन्धुपाल्चोक । पछिल्लो समय सिन्धुपाल्चोकको विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको छ। डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको अनुसार पछिल्लो तीन महिनामा २ सय ५० हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ। तीव्र रुपमा वन डढेलो फैलन थालेपछि स्थानीय सरकारले केही नियन्त्रणका उपायहरू अपनाउन थालेका छन्। हेलम्बु गाउँपालिकाले एक सूचना जारी गरी वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गाउँपालिकामा गराएमा सूचनादाताको नाम गोप्य राखी ५० हजार पुरस्कार प्रदान गरिने जनाएको छ।

आम नागरिकलाई असर गर्ने र कानुनले समेत बर्जित गरेको विषयमा दिनप्रतिदिन आगलागीको घटना घटेकाले यसलाई नियन्त्रणमा लिन पुरस्कारको व्यवस्था गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। ‘दैनिक आगलागी र वन डढेलोको घटनाहरू बढिरहेको कारणले त्यसलाई न्यूनीकरण गर्न डडेलो लगाउनेको सूचना दिनेलाई पुरस्कारको घोषणा गरिएको हो’, शेर्पाले भने, ‘गैरकानुनी काम गर्नेलाई कारबाही गर्ने र त्यस्ता कार्यको न्यूनीकरण गर्न प्रयत्न गर्ने हाम्रो प्रयास हो।’

गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनध्वज लामाद्वारा जारी सूचनामा हेलम्बुबासी लगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउने जस्ता कुनै पनि कार्य नगर्न समेत सचेत गराइएको छ। अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ।

डिभिजन वन कार्यालयका वन अधिकृत रमेश दुलालका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्यांक प्राप्त नभइसके पनि सिन्धुपाल्चोकमा २ सय ५० हेक्टर भन्दा बढी वनक्षेत्र डढेलोले नष्ट बनाएको छ। यसबाट महत्वपूर्ण जडीबुटी, वन्यजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएको उनले जनाए।

वन डढेलो नियन्त्रणको लागि प्रहरीले पनि प्रयास गरिरहेको छ। केही समयअघि वनमा डढेलो लगाउँदै गरेको अवस्थामा बलेफी गाउँपालिका-७ का ३५ वर्षीय मिलन लामालाई जलविरे प्रहरीले पक्राउ गरेको थियो। सेल्ताप सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। कसुर सावित भएमा क्षति भएको बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था वन ऐन २०७६ मा रहेको उनले जनाए।

पछिल्लो समय जिल्लाको चौतारा सागाचोकगढी नगरपालिका, बलेफी, सुनकोशी र हेलम्बु गाउँपालिकामा आगलागी र वन डढेलोको घटनामा बृद्धि भइरहेको प्रहरीको तथ्यांक छ। ‘अहिले दैनिक ४/५ वटा वन डढेलोको घटना दर्ता भइरहेका छन्’, भट्टराईले भने, ‘डढेलोका कारण निस्किएको धुवाँले स्वास्थ्यमा त असर पार्छ नै, जंगललाई समेत कुरूप बनाउँछ। त्यसकारण यसको रोकथामका लागि हेलम्बु गाउँपालिकालेजस्तै सबै स्थानीय सरकारले केही न केही प्रयास गर्नुपर्दछ।’

 

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस