काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले साग पसल खोल्ने घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत जनताको सेवा गर्न सांसदै बन्नु नपर्ने भन्दै साग बेचेरै भए पनि जनताको सेवा गर्न सकिने बताएका हुन् ।
लिम्बूले इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला उल्लेख गर्दै इलामेली युवा मिलेर छिट्टै कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्ने बताएका छन् । उनले किसानबाट संकलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भइसकेको र सम्भावित बजारको समेत अध्ययन गरिरहेको बताए ।
उनले भने, ‘हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।’
उनले भनेका छन्, ‘हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुनेछौँ ।’
उनले राजनीतिलाई पेसा बनाउन नहुने भन्दै आफ्ना लागि राजनीति सेवा र जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण पेसा हुने उल्लेख गरेका छन् । इलाम–२ मा गत शनिबार भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलनले ५ हजार ५० मत ल्याएका थिए । जहाँ उनको जमानत समेत जफत भएको थियो ।