२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोलम्बिया युनभर्सिटी अमेरिकामा तनाव, प्यालेस्टिनीको पक्षमा प्रदर्शन गर्ने सयौं विद्यार्थी पक्राउ

न्यु योर्क, वैशाख १९ । अमेरिकाको न्यु योर्कस्थित कोलम्बिया युनिभर्सिटी र सिटी कलेज अफ न्यु योर्कबाट सयौंको संख्यामा विद्यार्थी पक्राउ परेका छन्। ती कलेजहरूमा गजामा इसराइलले गरेको आक्रमणको विरोध र प्यालेस्टिनी नागरिकहरुको पक्षमा केही दिनयता प्रदर्शन हुँदै आएकोमा मंगलबार एनवाइडिपी (न्यू योर्क प्रहरी)ले सयौंको संख्यामा प्रदर्शनकारीहरूलाई पक्राउ गरेको हो।

प्रदर्शन चर्किँदै गएपछि नियन्त्रणका लागि युनिभर्सिटी प्रशासनले प्रहरीको सहायता मागेको थियो। युनिभर्सिटीको मुख्य भवन ह्यामिल्टन हल प्रदर्शनकारीहरूले कब्जा गरेको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्। प्रशासनकै आग्रमहमा युनिभर्सिटी प्रवेश गरेका प्रहरीहरू झ्यालबाट ह्यामिलटन हल छिरेका थिए। प्रहरीले त्यहाँबाट प्रदर्शनकारीहरुलाई तितरबितर पारी हल खाली गरेको थियो।

युनिभर्सिटी परिसरमा प्रदर्शन गरिरहेकाहरूलाई विद्यार्थीहरूलाई पनि पक्राउ गरेको छ। न्यू योर्क टाइम्सका अनुसार प्रदर्शनकारीहरूले गजामा मारिएका बालबालिकाहरुको स्मरणस्वरूप भन्दै ह्यामिल्टन हलको नामै हिन्द हल राखेका थिए।

प्रहरीले त्यहाँबाट प्रदर्शनकारीहरूलाई हात बाँधेर प्रहरीको बससम्म पुर्‍याएका थिए। प्रदर्शन गरेको पक्षले प्रहरी हस्तक्षेपबाट केही विद्यार्थी घाइते भएको भनेका छन्। उनीहरूले प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको आरोप लगाएका छन्। न्युयोर्क प्रहरीले भने भवन खाली गराउने क्रममा अश्रु ग्यास प्रहार नभएको बताएको छ।

युनिभर्सिटीले प्रदर्शनकारीहरू सबै विद्यार्थी नभएको बताएको छ। ‘केही युनिभर्सिटीमा कहल्यै नदेखिएका अनुहारहरू थिए,’ युनिभर्सिटीका प्रमुख नेमत शफिकले भनेका छन्।

युनिभर्सिटीले मे १७ सम्म सुरक्षा प्रदान गर्न प्रहरीलाई आग्रह गरेको छ। मंगलबार नै सिटी कलेज अफ न्युयोर्कबाट पनि दर्जनौं संख्यामा प्रदर्शनकारीहरू पक्राउ परेका छन्। प्रदर्शनको क्रममा प्रहरी पुगेपछि उनीहरू भागेका थिए। प्रहरीले लखेटीलखेटी प्रदर्शनकारीलाई पक्राउ गरेको थियो।

न्युयोर्क टाइम्सका अनुसार पछिल्लो साता अमेरिकाका तीस वटा युनिभर्सिटी र कलेजहरूमा प्रदर्शन चलेको छ। कोलम्बिया युनिभर्सिटी, यल युनभर्सिटी, न्युयोर्क युनिभर्सिटी, युनिभर्सिटी अफ मिनीसोटा, युनभर्सिटी अफ साउथ क्यारोलिना, युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया, अस्टिनस्थित युनभर्सिटी अफ टेक्सास, इमरसन कलेज, ओहिओ स्टेट कलेज, इमोरी युनिभर्सिटी, इन्डियाना युनिभर्सिटी ब्लुमिङटन लगायत ३० भन्दा बढी युनभर्सिटी र कलेजहरूमा प्रदर्शन भएको छ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस