२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ

भैरहवा । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एकल महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका छन् । उनलाई एकजना एकल महिलालाई ब्ल्याक मेल गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले वैशाख ६ गते पक्राउ गरेको हो ।

बुटवल १३ मा बस्ने गुरुङले २०७८ सालदेखि धाक धम्की दिएर पटक पटक एकजना महिलालाई करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) रन्जित सिंह राठौरले जबर्जस्ती करणी अभियोगमा सिद्धार्थ गुरुङलाई पक्राउ गरिएको बताए । एसपी राठौरले भने, ‘एकजना महिलाले जबर्जस्ती करणी गरेको मुद्दा दिएकोले पक्राउ गरी अनुसन्धान गरिरहेका छौं ।’

सिद्धार्थले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि विश्वासमा पारी पटक पटक बलत्कार गरेको पीडित महिलाले बताइन् । पीडित महिलाले भनिन्, ‘उसले मलाई धाक धम्की दिने, मेरो निजी तस्विरहरु, भिडियोहरु सामाजिक सञ्जालमा राखेर दुस्प्रचार गर्नेगरेर इमोशनल ब्ल्याक मेल गरेर मलाई पटक पटक जबरजस्ती करणी गरेका हुन् ।’

सिद्धार्थले पहिलो पटक जबरजस्ती करणी गरेको तस्वीर र भिडियो बनाएर राखेको र त्यसपछि भनेको नमाने उक्त भिडियो र तस्विर सबैलाई देखाउने भन्दै ब्ल्याक मेल गर्दै पटकपटक करणी गर्ने गरेको पीडित महिलाको आरोप छ । सिद्धार्थले ती महिलासँग पटक पटक गरेर ५ करोड भन्दा बढी रकम पनि लगेका छन् । उक्त रकम बापत दिएको चेक समेत बाउन्स भएको प्रमाण ती महिलासँग सुरक्षित रहेको छ ।

भाटभटेनी सुपरमार्केटका सन्चालक मिनबहादुर गुरुङको विश्वासीलो पात्र मानिने सिद्धार्थले प्रहरीलाई दबाब र प्रभावमा पारेर पक्राउ परेकै दिन विरामीको कागजात पेश गरी भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालको डिलक्स रुममा बसेका छन् ।

रुपन्देही प्रहरीकोे हिरासतमा जबरजस्ती करणीका २ वटा मुद्दा दायर भएका छन् । जसमध्ये सिद्धार्थ अस्पतालको एसी डिलक्स रुमको क्याबिन नं ५ मा बसेका छन् । तर सोही प्रकृतिको अर्को मुद्दाको अभियुक्त प्रहरीको हिरासत कक्षमा मच्छड, उडुस मार्दै पसिना चुहाउंदै आफ्नो अपराध कर्मको पश्चताप गरिरहेका छन् । यसरी प्रहरीले समेत उस्तै प्रकृतिको मुद्धाको अभियुक्तहरुलाई पहुँचको आधारमा फरक व्यवहार गर्ने गरेको देखिएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस