२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबैको ध्यान मतपरिणाममा भएका बेला प्रहरीले राति गोली चलायो

१६ वैशाख, काठमाडौं । देश उपनिर्वाचनको मतगणनामा होमिएका बेला गोली चलेको छ । सबैले मतपरिणाममा ध्यान दिइरहेका बेला प्रहरीले वीरगञ्जमा गोली चलाएको हो । घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् । घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन् । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको छ ।

पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका एसपी कुमोध ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए । प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।

उनी मारिनुअघि नेपाल प्रहरीसँग मोहम्मदबारे भारतीय पक्षले चासो राख्दै आएको थियो । उनको हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको प्रहरीको भनाइ छ । उनी घटना भएका बेला गोठाटारमै भएको समेत आशंका छ । आफ्नो मुलुकविरुद्ध गतिविधि गर्दै आएको आरोप लागेका व्यक्तिहरुलाई भारतले छिमेकी मुलुकमा पेशेवर अपराधी वा विभिन्न व्यक्तिलाई प्रयोग गरेर हत्या गर्ने गरेको आरोप लाग्दै आएको छ ।

सभासद् मिर्जा दिलसाद बेगपछि दुई दशकमा दश नेपाली नागरिकमाथि अज्ञात गिरोहले गोली दागेको छ । उनीहरु आईएसआई एजेन्ट भएको भारतीय पक्षको दाबी हुन्छ, तर प्रहरी अनुसन्धान अधिकांश घटनामा निष्कर्षसम्म पुगेको छैन । गोठाटारमा मोहम्मदको हत्या पनि त्यसैको श्रृंखला हुनसक्ने सुरक्षा सम्बद्ध स्रोतको भनाइ छ । गणेश कुमार समेत भनिने पासवान भारत, मोतिहारीस्थित रक्सौल थानाका स्थायी वासिन्दा हुन् । आन्दाजी ४१ वर्षका उनले मोहम्मद हत्यामा प्रयोग भएको हतियार व्यवस्थापन गरिदिएका थिए ।

रक्सौलबाट पासवानले पेस्तोल र त्यसमा लाग्ने गोली राजु भनिने दिनेश पटेल र गड्डु पटेललाई दिएको अनुसन्धानबाट खुलेको थियो । बब्लुकै योजना अनुसार उनीहरु हतियार लिएर काठमाडौंसम्म आएका थिए । उनीहरु हाल फरार रहेका नितिन मदनले व्यवस्थापन गरेको मोहम्मदको घर नजिकैको ‘कोशी पारि गेष्ट हाउस’मा बसेका थिए । मोहम्मद मारिनु केहीअघिदेखि सुमी भनिने सुस्मिता स्याङ्तान र मेरिना भनिने ममता तिवारीले मोहम्मदको रेकी गरेका थिए । त्यसबेला मोहम्मदको सम्पूर्ण ‘मुभमेन्ट’को विवरण ह्वाट्स एपमार्फत भारतमा पासवानलाई पठाएको भेटिएको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनको मोबाइलमा मोहम्मद मारिनुअघिको फोटो तथा भिडियोहरु पठाइएको थियो ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस