२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बझाङमा एमालेका दमन भण्डारी ११६१२ मतका साथ विजयी

धनगढी, वैशाख १७ । बझाङको प्रदेश सभा क्षेत्र नेकपा (एमाले) ले जितेको छ। सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। भण्डारीले ११६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए।

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चाैथाे स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्। यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए।

उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।

प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी काे हुन्?

भण्डारी छविसपाथिभेरा गाउँपालिका-१ भण्डारी गाउँका स्थायी बासिन्दा हुन्। ५७ वर्षीय भण्डारीका बुवा र हजुरबुवा पनि राजनीतिमा थिए। आमा बुवाले खेतीकिसानी गरेर आफुलाई हुर्काएकाे उनले बताए। उनी अहिले बुवाकाे शाेकमै छन्। यहि बैशाख ११ गते उनका बुवाकाे निधन भएको थियाे। चुनावकाे प्रचारप्रसारमै रहेका बेला उनलेे बुवाकाे अन्तिम संस्कार गर्न परेको थियो।

उनका बुवा पन्चायत कालमा वडा सदस्य भएका थिए। पल्लाघरका बाजेपनि गाउँमा प्रधानपञ्च भएका थिए। जेठाबुवाका छोरा पनि गाविस अध्यक्ष थिए। उनीहरूकाे प्रेरणाले आफुले पनि राजनीतिबाटाे राेजेकाे भण्डारी बताउँछन्।

गाउँबाट एसएलसी दिएर कानुन बिषय पढ्न काठमाण्डौं गएका उनी क्याम्पस पढ्ने बेलामा अनेरास्ववियुमा आवद्ध भए। भण्डारी २०५४ सालमा गाविस अध्यक्ष पनि भएका थिए। ‘काठमाण्डौंमा डिग्री पढ्दै गर्दा स्थानीय चुनावमा प्रचारप्रसार गर्न गाउँ आएका बेला मलाई घरमै आएर गाविस अध्यक्षको टिकट दिए,’ भण्डारीले भने, ‘उसलाई दिए जितिने भयो भनेर मैले पाएँ। त्यो बेला त फोन पनि थिएन। मलाई थाह थिएन। घरमा टिकट दिनआएपछि पाे बल्ल थाहा पाएँ।’

गाविस अध्यक्ष हुँदा उनी गाविस राष्ट्रिय महासंघको बझाङ जिल्ला अध्यक्ष पनि भए। त्यसपछि उनी युवा संघको जिल्ला अध्यक्ष भएका थिए।

२०६९ सालमा नेकपा एमालेकाे जिल्ला कमिटीकाे उनी सचिव भएका भण्डारी २०७८ मा अध्यक्ष भए। अहिले पनि भण्डारी नेकपा एमाले बझाङका अध्यक्ष हुन्। ‘२०५४ पछि मैलेँ चुनाव लड्ने अवसर पाएकाे थिइन, सिनियर नेता हुनुहुन्थ्यो। गतवर्ष प्रदेशमा दावी गरेको थिएँ, तर टिकट पाइन,उपनिर्वाचनमा भने जिल्लाबाट तीन जनाको नाम गएकोमा मैले पाएँ,’ उनले भने।

प्रदेश सभामा आफ्नो क्षेत्रका सामाजिक र पुर्वाधार क्षेत्रकाे विकास गर्न अहम भुमिका खेल्ने भण्डारीकाे दाबी छ। ‘हाम्रो पछि परेको दुर्गम ठाउँ छ। अहिले पनि आधारभुत आवश्यकता नै सबैले नपाएको अवस्था छ। हिंसा, बालबालिका बहुविवाह जस्ता धेरै समस्या अहिले पनि छन्। यसको विरुद्ध काम गर्छु भनेको छु,’ भण्डारीले भने, ‘गाउँमा प्रचार गर्दा पनि भ्रष्टाचारका विरुद्ध बोल्छु भनेको छु। प्रदेशमा कमिशनको कुरा आउने गरेको छु। त्यसको अन्त्य गर्नेछु।’

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस