१७ वैशाख, काठमाडौं । झापामा गोली चलेको छ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको बुझिएको छ । झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा गोली हानेर प्रहरीले सरिकुल आलमलाई पक्राउ गरेको हो । झापा प्रहरी प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरोसँगको संयुक्त अपरेसनका क्रममा उनलाई पक्राउ गरिएको पुष्टि गरे ।
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कुमरखोदमा उनले लागुऔषध कारोबार गर्न लागेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो । ‘लामो समयदेखि उनी त्यसक्षेत्रबाट लागुऔषध ओसारपसारमा संलग्न थिए’, केसीले भने, ‘त्यसक्रममा सर्भिलेन्समा राखिरहेका बेला एउटा घरमा डिल हुन लागेको सूचना थियो ।’
घरमा गएर जाँच गर्न थालेपछि उनले खुकुरी लिएर प्रहरीलाई आक्रमण गर्न खोजेको एसपी केसीले बताए । त्यसक्रममा प्रहरीले गोली हानेर उनलाई पक्राउ गरेको हो । घाइते आलमलाई प्रहरीले अस्पतालतर्फ ल्याउँदैछ । गएराति वीरगञ्जमा पनि प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी भारतीय नागरिक बब्लु पासवानलाई पक्राउ गरेको थियो । उनी काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद हत्यामा संलग्न आरोपी समेत हुन् ।