२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाम-२ मा मतगणना सुरु, प्रारम्भिक परिणाम मै सूर्यमा उच्च अग्रता

वैशाख १६, इलाम । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम-२ मा  मतगणना सुरु भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको  फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । भित्र रहेका गणकले जनबाेलीलाई दिएकाे जानकारी अनुसार सूर्य चिन्हमा अत्याधिक मत देखिएकाे छ ।

प्रारम्भिक परिणामदेखि नै सूर्य चिन्हका सुहाङ नेम्वाङले अग्रता लिएकाे उनले बताए । ओैपचारिक घाेषणा भने दुई-दुई घण्टामा मात्र गर्ने दलहरुबीच सहमति भएकाले बाहिर आएकाे छैन ।

फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ । फाकफोकथुकको गणनापछि दक्षीण इलामको चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मत गनिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए।

उनले सोमबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने बताए । उनले भने,’बढीमा ३६ घण्टाभित्र फाइनल नतिजा सार्वजनिक गर्ने गरी गणना हुँदैछ।’

मतगणनाको अपडेट दुई-दुई घण्टामा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनास्थल इलाम नगरपालिकास्थित गौतम बुद्ध टाउन हलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडावाट २० हजार ६ सय ६५ मत खसेको थियो ।

देउमाई नगरको ९ वटामा १५ हजार ९ सय ८० मत खसेको थियो । माङ्सेबुङ र चुलाचुलीका ६/६ वटावाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १ सय ९८ तथा माई नगरको ३ वडाबाट ४ हजार ६ सय ३४ मत खसेको थियो । चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम जस्ता विकट पालिकाहरूबाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा सोमबार बिहान भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस