काठमाडौं, चैत २६ गते । नेपाली क्रिकेट टोली पहिलो पटक विश्वकप जर्सीमा मैदानमा उत्रिएको छ । आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी आज वेस्टइन्डिज ‘ए’सँग खेल्दा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिलो पटक लगाइएको छ । जर्सी निक्कै आकर्षक देखिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक कार्यक्रमबिच युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङको उपस्थितीमा जर्सी सार्वजनिक गरेका थिए । नयाँ जर्सीको तल गैँडा र सगरमाथा छ । जर्सीको बिचमा नेपाल लेखिएको छ भने रङ्ग निलो, रातो, हल्का मधुरो, पहेलो र सेतो रहेको छ । बायाँतर्फ क्यान र दायाँतर्फ आइसिसी टी–२० विश्वकपको लोगो रहेको छ ।
यस्तै दुवै बाउलामा नेपालको झण्डा राखिएको छ । जर्सीको पछाडिको भागमा खेलाडीको नाम र नम्बर पनि रहनेछ । टी–२० विश्वकप आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।