२०८१ पुष ८ गते सोमवार | 2024 December 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विमानस्थलबाट नक्कली पाइलट पक्राउ

काठमाडौं । भनिन्छ ठगका अनेक रुप र चाल हुन्छन् । प्रहरीको नियन्त्रणमा पुगेपछि यस्ता विभिन्न ठगहरुका कर्तुतहरु सार्वजनिक हुदै आएका छन् ।नक्कली चिकित्सक, नक्कली, सेना, प्रहरी, नक्कली प्रशिक्षार्थी बनेर ठगी गरेका घटना बेलाबेलामा सार्वजनिक हुँदै आएका छन् । पछिल्लो समय नक्कली पाइलट नै फेला परेका छन् । त्यो पनि विमानस्थलमा ।

भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक नक्कली पाइलट पक्राउ परेका छन् । ती व्यक्ति पाइलटको पोसाक लगाएर एयरपोर्टमा घुमिरहेको अवस्थामा फेला परेका थिए ।सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सीआईएसएफ)ले नियन्त्रणमा लिएर ती नक्कली पाइलटलाई दिल्ली प्रहरीको जिम्मा लगाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार २५ अप्रिलमा एयरपोर्टको ‘स्काइवाक’ नजिकै एक व्यक्ति पाइलटको पोसाकमा घुमिरहेको अवस्थामा फेला परेका थिए । सोधपुछका क्रममा ती व्यक्तिले आफूलाई सिंगापुर एयरलाइन्सको पाइलट बताएको अधिकारीहरूको भनाइ छ । उनको घाँटीमा एक परिचयपत्रसमेत झुण्डिएको थियो ।

आरोपित २४ वर्षीय संगीत सिंह रहेको बताइएको छ । उनी भारतकै गौतमबुद्धनगर निवासी रहेको भारतीय सञ्चारमाध्यमहरूले खुलाएका छन् ।उनले बिजनेस कार्ड मेकर एपबाट सिंगापुर एयरलाइन्सको पाइलटको नक्कली परिचय पत्र बनाएको खुलासा भएको छ । उनले द्वारका क्षेत्रबाट पाइलटको पोसाक खरिद गरेको पत्ता लागेको अधिकारीहरूको भनाइ छ ।

सोधपुछका क्रममा संगीत सिंहले सन् २०२० मा मुम्बईबाट एक वर्षको एभिएसन हस्पिटालिटी कोर्स अध्ययन गरेको बताएका छन् । उनले आफू पाइलट रहेको भन्दै परिवारलाई समेत झुट बोल्दै आएको खुलासा भएको छ । परिवारले समेत उनलाई पाइलट ठान्थे र उनीहरूलाई खुसी पार्न उनी महिनामा केही दिन पाइलटको लुगा लगाएर घरबाट निस्कने र विमानस्थलबाट फोटो खिचेर पठाउने गर्थे ।

डिसेम्बरमा उनकी आमाको निधन भएपछि उनले बुबालाई खुसी पार्न यो काम गरिरहेको प्रारम्भिक अनुशन्धानबाट खुलेको प्रहरीलाई उधृत गर्दै भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । प्रहरीले अभियुक्तको बयान क्रस चेक गरिरहेको दिल्ली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस