२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कञ्चनजंघा संरक्षण क्षेत्रमा जडित क्यामेरामा दुई दुर्लभ हिउँचितुवा रेकर्ड

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङको खम्बाछेनमा हिउँचितुवा ट्रयाप गर्न राखिएको क्यामेरामा दुईवटा रेकर्ड भएको छ । हिउँचितुवा संरक्षण उपसमितिद्वारा राखिएको क्यामेरामा दुईवटा हिउँचितुवा ट्रयाप क्यामेरामा रेकर्ड भएको हो । चार हजार दुई सय मिटरको उचाइ रहेको खम्बाछेनमा राखिएको क्यामेरामा हिउँचितुवा रेकर्ड भएको हो ।

हिउँचितुवा प्रशस्त रहेको अनुमान गरिएको फक्ताङलुङ गाउँपालिका– ६ लेलेपको हिमाली क्षेत्रमा यो वर्ष अध्ययनका लागि ३४ वटा क्यामेरा जडान गरिएको छ । चैत २३ गते राखेको क्यामेरामा चैत ३० गते बेलुका ७ बजेर पाँच मिनेटमा दुईवटा हिउँ चितुवा रेकर्ड भएको हिउँचितुवा उपसमितिका अध्यक्ष पेन्जोक्ला शेर्पाले बताइन् । अध्यक्ष शेर्पाले दुवै हिउँचितुवा सँगसँगै रहेको टेलिफोनमा बताइन् । क्यामेराले एउटाको पूरै शरीर खिचेको छ, अर्कोको चाहिँ पुच्छर मात्रै खिचेको अध्यक्ष शेर्पाले बताइन् ।

चार हजार दुई सय ६६ मिटर उचाइको मेराकमा खिचेको क्यामेराको रेकर्ड भने उनीहरूले ढिलो गरी थाहा पाए । एकपछि अर्को गरेर क्यामेराको मेमोरी हेर्दा केही ढिलो गरी थाहा पाएको, तर हिउँचितुवा परेको देख्दा खुसी भएको अध्यक्ष शेर्पाले बताइन् । खम्बाछेनमा सञ्चार सम्पर्क नभएकाले सबैलाई खुसी सुनाउन करिब आठ घण्टा हिँडेर घुन्सा आउनुपरेको टेलिफोनमा सुनाइन्। विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्रले हिउँचितुवा संरक्षण उपसमितिमार्फत यो वर्ष क्यामेरा राखेको छ । खम्बाछेनमा अध्यक्ष पेञ्जोक्लाको नेतृत्वमा पेण्डे शेर्पा, इटेन शेर्पा, छेतेन शेर्पा र डण्डु शेर्पा टोलीमा रहेका छन् भने पेञ्जोक्ला, इटेन र छेतेन महिला महिला हुन् ।

यो क्षेत्रमा १० ठाउँमा २० वटा क्यामेरा राखिएको छ । एक ठाउँमा आमनेसामने बनाएर दुईवटा क्यामेरा राखिन्छ । यहाँभन्दा माथिल्लो क्षेत्र रोनाकमा उपसमितिका सचिव ङिमा टासी शेर्पाको नेतृत्वमा तीनजनाको समूहले क्यामेरा ट्याक राखेर नियमन गर्ने गर्छन् । यो क्षेत्रमा चार ठाउँमा आठवटा क्यामेरा ट्याक राखिएको छ भने घुन्सामा तीन ठाउँमा ६ वटा क्यामेरा राखिएको अध्यक्ष शेर्पाले बताइन् । घुन्सामा कोषाध्यक्ष अङजुक्ला शेर्पाको नेतृत्वमा दुईजनाको टोली छ । खम्बाछेन क्षेत्रमा सबैभन्दा बढी क्यामेरा राखिएको छ । यो ठाउँमा पहिला पनि हिउँचितुवालाई पासोमा पारेर स्याटलाइट लगाइएको थियो । चार हजार आठ सय मिटर उचाइसम्म साम्जोक भन्ने स्थानसम्म क्यामेरा राखिएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस