२०८१ असोज १८ गते शुक्रवार | 2024 October 4th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कतारी राजालाई नेपालले माउते सुसारेसहित दुर्लभ भाले-पोथी हात्ती उपहार दिने

१० वैशाख, काठमाडौं । कतारी राजा (अमिर) तमिम बिन हमाद अल थानीले आजदेखि नेपालको राजकीय भ्रमण गर्दैछन् । भ्रमणका सिलसिलामा नेपालले हात्ती उपहार दिने भएको छ । कतारले हात्ति राजासँगै भने लैजान नसक्ने देखिन्छ । कतारले ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि’ (साइटिस) प्रावधानअनुसार स्वीकृति लिइनसकेका कारण हात्ति केही समयपछि कतार लगिनेछ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण क्रममा २०७५ सालमै नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । यो प्रतिबद्धता राजा अल थानीको भ्रमणका बेला कार्यान्वयन गर्ने सरकारको तयारी छ ।

राजाको सम्मानका लागि यो विषय परराष्ट्र मन्त्रालयको प्रेस नोटमा समेटेर पछि अर्को कुनै कार्यक्रम आयोजना गरी द्विपक्षीय सम्झौता र हात्ती हस्तान्तरण हुनेछ । ‘हामीले हात्ती, ती हात्तीलाई पालन–पोषण गरिरहेका माहुतेसहित छनोट गरी हाम्रो तयारी पूरा गरेका थियौं,’ एक अधिकारीले भने, ‘तर, महासन्धिअनुसार कतारको तयारी पूरा हुन सकेन ।’

सरकारले एक पोथी र एक भाले हात्ती उपहारका रूपमा कतार सरकारलाई हस्तान्तरणको योजना बनाएको थियो । रुद्रकली र खगेन्द्र प्रसाद नामका दुई हात्ती कतार सरकारलाई दिने गरी छनोट समेत गरिएको छ । प्रवक्ता ढुंगानाका अनुसार हात्तीसँगै नेपालबाट उनीहरूका सुसारेसमेत पठाइने छ । उनीहरूले कतारका कर्मचारीलाई केही समय हात्तीको सुसार कसरी गर्ने भन्नेबारे सिकाउने छन् । त्यसपछि नेपालबाट गएका माहुतेहरू नेपाल आउनेछन् ।

यसअघि नेपालको प्राविधिक टोलीले कतार पुगेर हात्तीको बासस्थान समेत अवलोकन–अध्ययन गरिसकेको छ । कतारलाई दिन लागिएका यी हात्ती ५ वर्ष उमेरहाराहारीका हुन् । दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएका हुन् । उता, परराष्ट्र मन्त्रालय स्रोतले भने हात्ती उपहार दिनेबारे सम्झौता हुने जनाएको छ । मन्त्रालयका एक उच्च अधिकारीले नेपालले कतारलाई हात्ती उपहार दिनेबारे सम्झौताको तयारी रहेको बताए ।

 

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस