२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वीरेन्द्र तालमा हिमपहिरो खसेपछि अत्याधिक ठूलो बाढी बगिरहेको छ : प्रत्यक्षदर्शी

९ वैशाख, काठमाडौं । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेपछि त्यहाँबाट बग्ने पानीले बाढीको रुप लिएको छ । प्रत्यक्षदर्शीले यसको बाढी डरलाग्दो ढंगले बगिरहेको बताएका छन् । हिमपहिरो र बाढीको एक प्रत्यक्षदर्शी हुन् आरोही लाक्पा तेम्बा शेर्पा । उनले भने, ‘हामीले यहाँको नाजुक अवस्था देख्यौं ।’

उनले भने, आज बिहान वीरेन्द्र हिमताल नजिक–नजिक पुगेको बेला गडगडाहटको ठूलो आवाज सुनियो । सुरुमा त हेली (हेलिकोप्टर) आयो होला भन्ने लाग्यो । तर पछि ठूलो बाढी पो देखियो । पानी पनि परेको छैन, तर बाढी आयो । एकैछिनपछि थाहा भयो वीरेन्द्र तालको पानी बाढी बनेर बगेको रहेछ । हामीलाई लाग्यो ताल फुटेर बाढी आयो ।

हामीले साम्दु गाउँ र सामागाउँ जोड्ने पुल तर्नु र बाढीले त्यो पुल बगाउनु सँगसँगै जस्तो भयो । हामी भाग्यले जोगियौं जस्तो लागेको छ । तालमा हिम पहिरो खसेपछि तालको पानी बाहिर आएर बाढी बनेको हो । यसले तलसम्म कति असर गर्ने हो अहिले नै केही भन्न सकिन्न उनले भने । त्यतातिर दुई–चारवटा चौंरीहरु पनि थिए । पछि ती चौंरी पनि देखिएनन् । ती चौंरीहरु बाढीमा बगेको जस्तो लाग्छ ।

वीरेन्द्र ताल नजिक पुग्दा हिउँको ठूलो पहाडै खसेको देख्यौं । तालको आधाजस्तो भाग पहिरोले ढाकिएको छ उनले भने । एकछिनपछि ताल नजिक प्रहरीहरु पनि आइपुगे । उनीहरुले दुई वटा झोला भेटिए तर मान्छे भेटिएका छैनन् भनेर आपसमा कुरा गर्दै थिए । मानवीय क्षति भयो कि भएन, क्षति के कति भयो भन्ने एकिन विवरण उनीहरुलाई थाहा होला । हामी मनास्लु आरोहण गर्नका लागि आफ्नो बाटो लाग्यौं । अहिले हामी वीरेन्द्र तालभन्दा पनि माथि मनास्लुको आधार शिविर नजिक पुगिसकेका छौं । तलतिर हेर्दा कालो लेदोसहितको बाढी बगिरहेको देखिन्छ उनले भने ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस