२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज राम नवमी, देशभरका राम मन्दिरमा भक्तजनको भीड

काठमाडौं । आज मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन देशभर मनाइदैँ छ । राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । आज देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाइरहेका छन ।

प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् ।

यसै क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्छ । राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँछन् । रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस