२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गठबन्धन फेरिएपछि चौथो पटक सचिव सरुवा

काठमाडौँ । पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि सरकारले झन्डैझन्डै सातैपिच्छे सचिवहरूको सरुवा गर्ने गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चौथोपटक सचिवको सरुवा गरेको छ। चौथौ चरणको सरुवामा मुकुन्द निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगिएको छ भने त्यहाँका सचिव विनोदप्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालय पुर्‍याइएको छ। निरौलाको सरुवा एक सातामै दुई पटक भएको छ। एक साताअघि उनलाई उद्योग तथा आपूर्ति मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालय पुर्‍याइएको थियो। एक साताको अवधिममै उनलाई त्यहाँबाट सामान्यमा लगिएको छ।

यसैगरी शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा र त्यहाँ कार्यरत सचिव सुमन अर्याललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा लगिएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि २२ जना सचिवको सरुवा गरिसकिएको छ। गृह मन्त्रालयमा आउनेबित्तिकै रवि लामिछानेले गृह सचिव फेरे। प्रधानमन्त्री कार्यालयमा कार्यरत एकनारायण अर्याललाई गृहमा ताने भने गृहमा कार्यरत दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा लगे।

यसैगरी दोस्रो चरणको सरुवामा चैत पहिलो साता उदय सापकोटालाई सत्य निरूपण तथा मेलमिलाप आयोग लगियो भने त्यहाँका सचिव फनिन्द्र गौतमलाई कानुन मन्त्रालय पुर्‍याइयो। तेस्रो चरणमा चैत २१ गते केही सचिवको सरुवा गरिएको थियो। जसमा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लगियो।

ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयमा कार्यरत सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लगिएको थियो। सकेसम्म भौतिक पूर्वाधारमा जान इन्जिनियर समूहका सचिवहरूले लबिङ गर्ने गर्छन्। भौतिक पूर्वाधारका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोगमा सरुवा गरियो। यसैगरी मधेस प्रदेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरेलाई उद्योगमा पुर्‍याइएको छ भने उद्योगमा कार्यरत सचिव नारायण शर्मा दुवाडीलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ।

कसैलाई थन्क्याउनुपर्‍यो भने प्रधानमन्त्री कार्यालयमा लग्ने गरिन्छ। त्यसैले प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिवहरूले आफूलाई सजाय दिएको ठान्ने गर्छन्। वित्त आयोगमा कार्यरत सचिव कृष्णबहादुर राउतलाई उद्योगमा लगिएको छ। उद्योग मन्त्रालयमा दुई सचिव रहने व्यवस्था छ। जल तथा ऊर्जा आयोगकी सचिव सरिता दवाडीलाई ऊर्जामा लगिएको छ। ऊर्जा मन्त्रालयमा पनि दुई सचिव हुने व्यवस्था छ। सचिवको सरुवा सूचीमा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ पनि छन्। उनलाई निर्वाचन आयोग लगिएको छ।

आयोगमा सचिव पद खाली थियो। तेस्रो चरणको सरुवामा बागमती प्रदेश सरकारका प्रमुख सचिव पदमा कार्यरत घनश्याम उपाध्यायलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको थियो। श्रम सचिव केवल भण्डारीले अवकाश पाएपछि श्रम सचिवको पद रिक्त थियो।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस