२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वार्षिक ३ करोड लिने गरी बेचिएको थियो काभ्रेमा काटिएको बुद्धचित्तको रुख

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा अज्ञात समूहले काटेको बुद्धचित्त (बोधिचित्त) को रूख वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा बिक्री भइसकेको खुलेको छ । घरधनी शेरबहादुर तामाङले बताएअनुसार, वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बुद्धचित्तको रूख बिक्री गरिएको थियो । सम्झौता अनुसार, बिक्री भएको रूखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजान्थे ।

‘दुई–तीन महिनाअघि मात्र पाँच वर्षका लागि वार्षिक तीन करोड रुपैयाँ दिने गरी सम्झौता भएको थियो’ तामाङले भने, ‘अहिले बल्ल रुखमा फूल फुल्दै थियो, फल्नुअघि नै आएर रूख काटिदिए । उनले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको बताए । त्रिपाठीले यही व्यवसायमा रहेका अरुले आफूले नपाएको झोंकमा यस्तो घटना गराएको हुनसक्ने बताए ।’

‘अरुले पनि किन्न खोजेका थिए, नपाएपछि यस्तो गरेको हुनसक्छ’, त्रिपाठीले भने, ‘फूल मात्र फुलेको बेला यस्तो गरेकाले पनि यो प्रतिशोधबाहेक केही होइन भन्ने देखिन्छ ।’

जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी राजकुमार श्रेष्ठ भने फूल फूल्ने बेलामा किन र कसले रुख नै काट्यो भन्ने विषयमा अनुसन्धान थालिएको बताउँछन् । उनका अनुसार, गएराति १ बजेतिर तामाङको घर छेउमा रहेको बुद्धचित्तको रुख अज्ञात समूहले काटेका थिए । सूचना आएको एक घन्टाभित्र प्रहरी टोली त्यहाँ पुगेको थियो । यद्यपि, त्यतिञ्जेल यसमा संलग्न व्यक्तिहरु फरार भइसकेका थिए । प्रहरी टोली घरमा पुग्दा आँगनमा ४ वटा सकेट बम भेटिएको थियो । नजिकै ‘जनमुक्ति सेना नेपाल’ लेखिएको ज्याकेट पनि फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा अनुसन्धानलाई अलमल्याउन उनीहरुले त्यो ज्याकेट छाडेको हुनसक्ने आशंका गरिएको छ । प्रहरी स्रोतका अनुसार, अनुसन्धानका लागि प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती व्यक्तिले आफूलाई बुद्धचित्तको रुख बिक्री गर्न घरधनीलाई भनेका थिए । यद्यपि, पछि घरधनी तामाङले लामा र त्रिपाठीलाई रुख बिक्री गरेका थिए । काभ्रेमा पाइने बुद्धचित्त व्यवसायीले खरिद गरेर चीनमा लगेर बिक्री गर्ने गरेका छन् । धार्मिक महत्वको बुद्धचित्त प्रशोधनपछि महँगोमा बिक्री हुने गर्छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस