काठमाडौं । डोल्पामा एक सातामा भएका दुई फरक आगलागीका घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । एक बालकसहित चार जनाले ज्यान गुमाएका हुन । त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागी हुँदा तीनजना घाइते भएका थिए । उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा १० वर्षीय सुलस बुढाको मृत्यु भएको हो । अन्य घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
गुच्ची च्याउ टिप्न वन गएका बालबालिका आगलागीमा परेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौं ल्याउन हेलिकप्टरको व्यवस्था गरेको छ । यसअघि गत मङ्गलबार नै डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका नेपाली सेनाका तीन जना जवानको मृत्यु भएको थियो । घाइते एकजनाको भने काठमाडौंमा उपचार भइरहेको छ ।