२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनता निराशा छन्, आशा जगाउन विगतका कमजोरी सच्याएर अघि बढौँ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेका नेताकार्यकर्ता समाज परिवर्तनको काममा लाग्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) सिन्धुलीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधबार सिन्धुलीमाढीमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक परिवर्तनभन्दा समाज परिवर्तनको काम महत्वपूर्ण र ठुलो भएको बताउनुभयो ।

पोखरेलले विचार नै शक्ति हो भन्ने कुरा बुझेर विचारबाट समाज परिवर्तनको काममा जुट्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । सो क्रममा महासचिव पोखरेलले नेपाली कांग्रेस परिवर्तन विरोधी शक्ति भएको आरोप पनि लगाउनुभयो । नेपाली कांग्रेस परिवर्तनको आन्दोलनमा सधैँ सँगै हुने गरे पनि उपलब्धिलाई संस्थागत गर्ने कुरामा भने सँगै उभिन नसकेको उहाँको भनाई थियो । महासचिव पोखरेलले भन्नुभयो, ‘जब परिवर्तनलाई संस्थागत गर्ने समय आउँछ, कांग्रेसले सदैव आफूलाई परिवर्तनका विरुद्धमा उभ्याउने गरेको छ ।’

उहाँले माओवादी आन्दोलनले नेपाली समाजमा परिवर्तनको हलचल ल्याएको भए पनि आजको परिवर्तन शान्तिपूर्ण जनआन्दोलनबाट भएको हो भन्ने कुरा बिर्सन नहुने तर्क गर्नुभयो । अर्को एक फरक प्रशंगमा उहाँले अहिले जनतामा निराशा बढेको बताउँदै जनतामा आशा जगाउन विगतमा भएका कमजोरी सच्याएर अघि बढ्नु पर्ने बताउनुभयो । महासचिव पोखरेलले देश बलियो बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताउँदै त्यसका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस