२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पहिलोपटक कर्णालीमा एमालेको नेतृत्व, मुख्यमन्त्री कँडेलद्धारा पदभार ग्रहण

काठमाडौं । लामो रस्साकस्सीपछि कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाएको छ । आज नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले शपथ ग्रहण गर्नुभएको हो । उहाँले प्रदेश प्रमुख तिलक परियारसमक्ष शपथ ग्रहण लिनुभयो । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएपछि कर्णाली प्रदेश एमालेले पाउने सहमति भएको थियो । उहाँ नेकपा (एमाले) सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री बन्नुभएको छ । योसँगै नेकपा एमालेले कर्णाली प्रदेशमा पहिलोपटक नेतृत्व गर्ने अवसर पाएको छ ।

लामो राजनीतिक विरासत बोक्नुभएका नेता कँडेल स्वच्छ छविको नेताका रुपमा पनि चिनिनुहुन्छ । उहाँ नेकपा एमालेको दशौँ महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशको इन्चार्जको भूमिका र हाल स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्जका रुपमा जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा सदस्य निर्वाचन (क) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस