२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको फोहोर व्यवस्थापनबारे सहरी विकास मन्त्री बुढा र मेयर बालेनबीच छलफल

काठमाडौं, चैत २० । सहरी विकास मन्त्री धनबहादुर बुढा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल भएको छ। उनीहरूबीच सिंहदरबारमा आइतबार बिहान छलफल भएको हो।

प्रभावित क्षेत्रका बासिन्दाहरूको सरोकारलाई सम्बोधन हुने गरी बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर व्यवस्थापन गर्ने र उनीहरूको माग सम्बोधन गर्ने विषयमा मेयर बालेनसँग मन्त्री बुढाले मिलेर अघि बढ्न प्रस्ताव गरेको उनको सचिवालयले जनाएको छ।

फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै मेयर बालेनले महानगरले केही वडावाट शून्य फोहोर कार्यक्रम सुरू गरेको बताएका थिए। मेयर बालेनले बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको संरचनामा थप सुधार गरी फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताएका थिए।

मन्त्री बुढाले बन्चरेडाँडामा जाने फोहरको परिमाणलाई कम गर्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौं र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको बताएका थिए।

‘संघीय सरकार स्थायित्व यहाँलाई थाह नै छ, तर स्थानीय सरकारले आफ्नो पूरा कार्यकाल काम गर्न पाउने भएकाले काठमाडौंको विकासमा महानगरले गर्न चाहेका विकास निर्माणको काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौं,’ मन्त्री बुढाको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ।’

जवाफमा मेयर शाहले काठमाडौं उपत्यकाको ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अव्यवस्थित बस्तीलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए।

 

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस