२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको संसदमा कांग्रेसले के गर्ला ?

काठमाडौं । सभामुखको विदेश भ्रमणका लागि १० दिन स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज आइतबार बोलाइएको छ । आजदेखि लगातार चार दिन बैठक राख्ने र संघीय निजामती ऐनसहितका विधेयक–प्रस्तावमाथि छलफल गर्ने तयारी छ । तर आज आइतबारकै बैठक चल्ने नचल्ने अन्यौल देखिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेको छ ।

संसदको अघिल्लो (७ चैत) मा बसेको बैठकमा पनि कांग्रेसले यो माग राख्दै भनेको थियो, ‘आउँदो संसदमा सरकार पक्ष समिति बनाउन मानेन भने यो सदन उहाँहरुलाई चाहिएको रहेनछ भनेर हामीले बुझ्नेछौं । कांग्रेस यही अडानमा अडिग छ । यसैले आज अवरोध हुने सजिलै आँकलन गर्न सकिन्छ । यो १० दिनमा यो विषयमा दलहरुबीच कुनै सम्वादपनि भएको देखिन्न । कांग्रेसले समिति गठनको माग छाडेको छैन भने सत्तारुढ दलहरु संसदीय छानबिन समिति गठन आवश्यक नभएको बताएका छन् ।

शनिबार सभामुखले प्रमुख दलका प्रमुख सचेतक–सचेतकहरुसँग गरेको छलफलमा पनि यसबारे सहमति जुटेको छैन । सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दलका प्रमुख सचेतकहरुले सांसदीय छानबिन समिति आवश्यक नरहेको बताएका छन् । एमाले प्रमुख सचेतक महेश बर्तौलाले आफूले उठाएको विषय सही हो कि होइन भनेर कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताए । सरकारलाई ३० दिनभित्र ढाल्छु भन्ने उद्देश्य निर्धारण गरेर सरकारलाई असहज बनाउन यो मुद्दा उठाएको भन्दै उनले भने, ‘प्रधानमन्त्री स्वीकार गर्न तयार भएको नेपाली कांग्रेसले गृहमन्त्री अस्वीकार गरेर छानबिन समितिको जे कुरा गरेको छ, यो राजनीतिक आग्रहबाट प्रेरित छ ।’

 

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस