२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई ठूलो सफलता : स्वदेशमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ बाट चल्यो कार

The car runs on locally produced 'green hydrogen' Nepal

१८ चैत, काठमाडौं । नेपाललाई ठूलो सफलता प्राप्त भएको छ । नेपालमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ (जलविद्युत् र पानी प्रशोधन) बाट सवारीसाधन चलाउन गरिएको परीक्षण सफल भएको छ । काठमाडौं विश्वविद्याल (केयू) मा आइतबार हाइड्रोजन रिफिलिङ स्टेसनको सफल परीक्षण गरिएको नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्रा.डा. विराजसिंह थापाले जानकारी दिए ।

‘दुई वर्षको निरन्तर अनुसन्धानपछि आज बिहानैबाट हामी हाइड्रोजन इन्धनलाई कारमा राख्ने कामको परीक्षण गरिरहेका छौं,’ थापाले भने, ‘यो दिन नेपालका लागि निकै महत्वपूर्ण हुनेछ । विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको हो ।’

स्टेसनको सफल परीक्षण भएसँगै नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट पहिलो पटक कार गुड्न सफल भएको हो । थापाका अनुसार ग्रिन हाइड्रोजनबाट चल्ने कार अन्य कारभन्दा छुट्टै हुन्छ । विदेशबाट ल्याइएको यस्तो कारमा नेपालमै उत्पादित हाइड्रोजनले कार गुड्न सफल भएसँगै अब यसलाई व्यावसायिक उत्पादनमा समेत लैजान सकिने सम्भावना पुष्टि भएको उनले जानकारी दिए । ‘जसरी ईभी उत्पादन हुन्छ, हाइड्रोजन गाडीसमेत छुट्टै उत्पादन हुन्छ,’ उनले भने ।

प्रा.डा. थापाका अनुसार ग्रिन हाइड्रोजन डिजेलको विकल्पका रूपमा संसारभरि अगाडि बढेको हो । जसले बस, ट्रकजस्ता ‘हेभी उपकरण’ सञ्चालन गर्ने छ । ‘बिजुलीबाट गुड्ने सवारीसाधन हलुकामात्र हुनेछन्, किनकि यस्तो इन्धनले हेभी सवारीसाधन चलाउन सम्भव छैन,’ उनले भने, ‘ग्रिन हाइड्रोजन डिजेलको विकल्प हो ।’

अध्ययन अनुसार ७ किलो ग्रिन हाइड्रोजनले १५–२० टन भार बोकेका ठूला सवारीसाधनले १ हजार २ सय किलोमिटरसम्म दुरी पार गरेको देखिएको छ । यसले नेपालजस्तो भूगोलमा समेत हाइड्रोजनको व्यावसायिक सम्भावना अधिक देखिएको उनले बताए । ईभीले पेट्रोलबाट चल्ने गाडी विस्थापित गर्ने र ग्रिन हाइड्रोजनले डिजेल विस्थापित गर्न सक्ने उनको भनाइ छ । यसले पर्यावरण संरक्षणसँगै नेपालजस्ता मुलुकले स्वदेशी उत्पादनबाट सवारीसाधन चलाउन सक्ने उनको भनाइ छ ।

विश्वविद्यालयको काम अध्ययन र परीक्षण गर्ने भएको भन्दै उनले अब यसलाई व्यावसायिक सञ्चालनमा लैजाने वा नलैजाने भन्ने विषय सरकार र लगानीकर्ताको इच्छाशक्तिमा भर पर्ने बताए । ‘हामीले सम्भावना पुष्टि गरेर देखाएका छौं,’ उनले भने, ‘अब यसलाई नेपालका हकमा व्यावसायिक प्रयोगमा ल्याउने काम सरकार र लगानीकर्ताको हो ।’

यस परीक्षणमा प्रा.डा. थापासँगै आधा दर्जन अनुसन्धानकर्ता निरन्तर खटिएका थिए । उक्त क्रममा कोरियामा एक महिना बसेर अध्ययन गरिएको उनले जानकारी दिए । यसअघि केयूस्थित ल्याबमा खाना पकाउने ग्यासका रूपमा हाइड्रोजनको सफल परीक्षण भइसकेको छ । गत भदौमा सफल परीक्षण भएको ग्यासबाट ७ मिनेटमा चाउचाउ (खाजा) पकाइएको थियो । नेपाल इनर्जी फाउन्डेसनको नेतृत्वमा केयू, बेलायतको इनर्जी क्याटलिस्ट कार्यक्रम र लुसर्न स्कुल अफ इन्जिनियरिङको सहयोगमा उक्त परीक्षण गरिएको थियो । परीक्षणको उद्देश्य कोइला र डिजेल विस्थापन गरी उद्योगहरूमा ग्रिन हाइड्रोजन प्रयोग गर्न सकिन्छ भन्ने तथ्य पुष्टि गर्नु रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस