२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछाने प्रकरणमा प्रहरी प्रमुख र प्रधानमन्त्रीको जवाफले संशय पैदा गर्‍यो : कांग्रेस

१८ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रहरी प्रमुख र प्रधानमन्त्रीले दिएको जवाफले संशय पैदा गरेको बताएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद संजयकुमार गौतमले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ,’ कांग्रेस सांसद गौतमले भने । यही चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए । सहकारीको ठगीका सन्दर्भमा ‘सबै इस्युको मेन जड’ जीबी राई रहेको उल्लेख गर्दै उनले भनेका थिए, ‘रवि लामिछानेको नाम आएको छ, तर यसमा उहाँको कुनै संलग्नता देखिएको छैन ।’

प्रहरी महानिरीक्षक कुँवरले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेलाई निर्दोष भनेको स्मरण गर्दै कांग्रेस सांसद गौतमले यस्तो बताएका हुन् । कांग्रेसले गत फागुन २४ गतेदेखि गृहमन्त्री लामिछानेका सन्दर्भमा संसदमा प्रश्न उठाउँदै आएको छ । त्यसयता बसेका हरेक बैठकको सुरुमै कांग्रेसले गृहमन्त्रीका सन्दर्भमा प्रश्न उठाउने गरेको छ । सुरुमा कांग्रेसले गृहमन्त्रीको नियुक्तिका सन्दर्भमा प्रधानमन्त्रीको जवाफ मागेको थियो । चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम हिनामिनाका विषयमा गृहमन्त्री लामिछाने कतै संलग्न नरहेको प्रहरी ब्रिफिङ रहेको बताएका थिए ।

प्रधानमन्त्रीको जवाफमा कांग्रेसले चित्त बुझाएको छैन । प्रधानमन्त्रीको जवाफ चित्त नबुझेपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यो मागमा अडिग रहेको कांग्रेस सांसद गौतमले बताएका छन् । कतिपयले गृहमन्त्रीमाथि राजनीतिक पूर्वाग्रहका आधारमा कांग्रेसले प्रश्न उठाएको भनेको स्मरण गर्दै सांसद गौतमले भने, ‘राजनीतिक पूर्वाग्रहको रुपमा यो उठेको होइन ।’ आफूहरुले सुरुमा प्रधानमन्त्रीको जवाफ खोजेको तर, प्रधानमन्त्रीले क्लिन चिट दिन खोजेपछि संशय पैदा भएको उनले बताए ।

लामिछानेको गृहमन्त्रालयमा स्वार्थ बाझिने पनि उनले बताए । यो विषय नैतिक विषय भएको बताए । विगतमा कांग्रेसका तर्फबाट अर्थमन्त्री रहेका बेला रामशरण महतमाथि प्रश्न उठ्दा राजीनामा दिएको, माओवादी केन्द्रका कृष्णबहादुर महराको सन्दर्भमा प्रश्न उठ्दा राजीनामा आएको स्मरण गर्दै उनले प्रश्न उठ्दैमा त्यसलाई राजनीतिक रुपमा हेर्न नहुने उनले बताए । प्रश्न उठेका व्यक्तिका सन्दर्भमा प्रधानमन्त्री गम्भीर नभएको कांग्रेस सांसद गौतमको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डलाई सांसद गौतमको प्रश्न छ, ‘प्रधानमन्त्रीज्युले ठूलो माछा काखीमा च्यापेर सानो माछा मात्रै खोजी गर्ने कुरामा प्रतिबद्धता जनाएर पुग्छ ?’ आफूहरुले गम्भीर रुपमा प्रश्न उठाएको र गृहमन्त्रीका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा कायम रहेको बताए । आफूहरुका लागि संसद चाहिएको र संसद चलाउने विषयमा गम्भीर रहेको बताए । आफूहरु संसद अवरोधको पक्षमा नरहेको उल्लेख गर्दै उनले संसदीय छानबिन समिति गठनका लागि तयार हुन सत्तारुढ दलहरुलाई आग्रह गरे । अन्यथा, निरन्तर विषय उठाइरहने र आवश्यक परे संसद अवरोध गर्ने र जनतामा जाने उनको चेतावनी छ ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस